२०८२ माघ २९

सशस्त्र प्रहरी बलको १७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न, २३ जना रक्तदाता सहभागी

सिन्धुपाल्चोक । सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोकले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २३ जना रक्तदाताले सहभागिता जनाएका थिए ।


उक्त कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), सिन्धुपाल्चोकको सहकार्यमा सञ्चालन गरिएको हो । सशस्त्र प्रहरीका कर्मचारीहरू स्वेच्छिक रूपमा सहभागी भई रक्तदान गरेका थिए । गणले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाएको छ ।
ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले उक्त क्षेत्रमा रक्तदान कार्यक्रम विरलै सञ्चालन हुने उल्लेख गर्दै सशस्त्र प्रहरीको पहल प्रशंसनीय रहेको बताए । “यस क्षेत्रमा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन हुन सकेको छैन । यस्तो अवस्थामा सशस्त्र प्रहरी बलले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नु अत्यन्त सकारात्मक कदम हो,” अध्यक्ष कसजुले बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममार्फत सङ्कलित रगत जिल्ला अस्पताल स्थित रक्त सञ्चार सेवा केन्द्रमार्फत आवश्यक बिरामीका लागि उपयोग गरिने जनाइएको छ । सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता मानवीय कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्