२०८२ माघ २१

माघ २५ देखि जिल्लाभर एचपीभी खोप अभियान, २ हजारभन्दा बढी किशोरी लाभान्वित हुने

सिन्धुपाल्चोक | पाठेघरको मुखको क्यान्सर रोकथामका लागि माघ २५ गतेदेखि फागुन १ गतेसम्म जिल्लाभर एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार विद्यालय र स्वास्थ्य संस्थामार्फत लक्षित किशोरीहरूलाई निःशुल्क खोप सेवा प्रदान गरिनेछ ।
अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरीहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेर पुगेका किशोरीहरू तथा यसअघि खोप लगाउन छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत ११–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिइनेछ । माघ २५ गतेदेखि फागुन १ गतेसम्म सम्बन्धित विद्यालय, वडा तथा स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सेवा सञ्चालन गरिनेछ ।


जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गा बजगाइका अनुसार यस अभियानअन्तर्गत करिब २ हजार ३ सय १२ जना किशोरीहरूलाई एचपीभी खोप लगाइने कार्ययोजना रहेको छ । “लक्षित समूहका सबै किशोरीसम्म खोप सेवा पुग्ने गरी विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरिएको छ,” उनले बताए ।
एचपीभी खोपलाई पाठेघरको मुखको क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपायका रूपमा लिइन्छ। किशोरावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने भएकाले यो खोप सार्वजनिक स्वास्थ्यको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।


जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले खोपको महत्व औँल्याउँदै भने, “एचपीभी खोपले किशोरीहरूको भविष्य सुरक्षित बनाउँछ। आज लगाइने एउटा खोपले भोलि ठूलो रोगबाट जोगाउँछ, त्यसैले लक्षित किशोरीहरूले खोप नछुटाउने गरी सबै अभिभावक, विद्यालय र समुदायले जिम्मेवारीपूर्वक साथ दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्