२०८२ फाल्गुन २६

प्रतिज्ञा

मचाकाजी महर्जन

ओहो ! भोली मेरो जन्मदिन । म १७ पुरा भएर १८ वर्ष लाग्ने दिन । अर्थात १८औं जन्मदिन । मेरो ममी, ड्याडी, दिदीहरूले मेरो जन्मदिनको बधाई संगै के के उपहार दिनुहुन्छ होला ? हुन त साथीहरूलाई बोलाएर यसो रमाइलो गर्ने मन थियो । तर के गर्नु … ? होस्, भोलिपर्सी जागिर भएपछि गरौंला नि रमाईलो । अहिले मेरो १२ क्लास चलिरहेको छ । मन लगाएर पढ्छु र धेरै अंकका साथ पास गर्छु अनि कसो मेरो यो इच्छा ममी ड्याडीले पुरा नगरिदेला ? जे भए पनि भोलीको दिन केहि गर्ने त प्रतिज्ञा गर्नैपर्छ बा ! ‘हा…ई ! कस्तो मिठो सपना देखेको ? हो है आज त मेरो १८औं जन्मदिन अर्थात १७ वर्ष नाघेर १८ वर्ष पुगेको दिन । यो उमेरमा मैले के गर्न सकिन्छ भन्ने बारे केहि सोच्नै पर्छ बा ! सोच्ने मात्र होइन प्रतिज्ञा नै गर्नुपर्छ । अब त म पनि सानो छैन नि । मैले चुनावमा भोट हाल्न पाइने भएं । सवारी चालक अनुमति पत्र पाउने भएं । यो १८ वर्ष पुग्नु भनेको त ठूलै रहेछ नि ! अस्ति स्मारिकामा एउटा लेख पढेको थिएं । त्यसमा रक्तदान बारे लेखिराखेको थियो । अँ, त्यसमा त हामी नेपालीले १८ वर्ष पुगेको दिनसंगै रक्तदान गर्न सकिन्छ भनेर लेखेको थियो । आहा ! मैले पनि आजबाट रक्तदान गर्न सक्ने भएं । अनि …. अनि रक्तदान गर्नेको तौल ४५ किलोभन्दा बढि हुनु पर्ने, रक्तचाप तलको ७०–९० र माथिको ११०–१४० भएकोले दिन सक्ने रे । अझ अँ, हेमोग्लोबिन १२ ग्रा./प्रतिशत हुनेले रक्तदान गर्न सकिन्छ भन्ने पनि लेखेको थियो । अरू के के लेखेको रहेछ । सरसर्ति मात्र पढेको त्यति धेरै सम्झिनै सकिंन । मेरो तौल, रक्तचाप त ठिकै छ, रह्यो हेमोग्लोबिनको कुरा । त्यो पनि त ठिकै होला नि । हो, आजको दिनमा मैले रक्तदान गर्ने प्रतिज्ञा गर्छु । बरू रक्तदान गर्नुभन्दा पहिला यसबारे अझ राम्रो जानकारी लिन्छु । त्यस स्मारिकामा रक्तदान बारे अरू के के लेखेको रहेछ एकपटक फेरि पढ्नै प¥यो बा ! बरू त्यो स्मारिका पो कहाँ छ होला ? अँ, सम्झें ! त्यहि दराजमा राखेको थिएं । ल भेट्टाएं, ‘ब्लोदान स्मारिका’ । माथी ममी, ड्याडीले मेरो जन्मदिन मनाउने तयारी गर्दै होला । म यहाँ एकछिन यो स्मारिका पढेर मात्रै माथि जान्छु ।

ओहो ! रक्तदान भनेको यस्तो महत्वपूर्ण काम रहेछ ? अस्ति सरसर्ती मात्र पढेको थिएं । आज बल्ल यसबारे नयाँ नयाँ कुरा थाहापाउँदै छु । हाम्रो शरीरमा बढि भएको रगत मात्रै दान गर्ने रे । हामीले दान नगरे पनि त्यो रगत शरीरबाट त्यत्तिकै खेर जाने रे । यस्तो हो भने हाम्रो शरीरमा कति रगत हुन्छ त ? यसबारेमा पनि त लेखेको होला यसमा । कहाँ छ … ? अँ भेट्टाएं यहाँ रहेछ । ओहो ! दैनिक जीवनयापनको लागि चाहिने भन्दा पुरूषमा प्रति के. जी. २६ मिलि र महिलामा प्रति के. जी. १६ मि.लि. रगत बढि हुन्छ । त्यसमध्ये बढीमा प्रति के. जी. जम्मा ८ मि.लि.मात्र रक्तदान गर्ने ? भनेपछि त रक्तदान गरेर केहि पनि नहुने रहेछ त । अस्ति त मेरो साथी रक्तदान गर्न कस्तो डराएको ? रक्तदान ग¥यो भने दुब्लाउँछ, विरामी हुन्छ, मोटाउँछ, भोली आफैलाई रगत पुग्दैन रे । त्यति बेलासम्म मैले यो रक्तदान बारे राम्ररी अध्ययन गरेकै थिएन । नत्र म उसलाई सम्झाई बुझाई भएपनि रक्तदान गर्न लगाउँथें । अनि रक्तदान गर्न यति मात्रै भए पुग्छ कि अरू के के नियम पुरा गर्नु पर्छ होला ? फेरि फेरि पनि दिन सक्छ कि सक्दैन ? मिल्छ कि मिल्दैन ? साँच्ची कै साथीले भनेको जस्तो पो हुने हो कि ? ए ! यसबारेमा पनि यसमा त मज्जाले खुलस्तै लेखेको रहेछ त । ओहो ! खाली पेटमा रक्तदान गर्नु हुँदैन । कम्तिमा पनि ६ घण्टा आरामले सुतेको हुनुपर्छ । रक्तदान गर्नु भन्दा कम्तिमा ५/६ घण्टा अगाडि र पछाडि मादक पदार्थ सेवन गरेको हुनु हुँदैन । कुनै किसिमको औषधी (जस्तै रक्तचाप, मधुमेह (सुगर), एण्टिवायोटिक आदि) सेवन गरिराखेको हुनुहुँदैन । यदि शरीरमा टाटु लेखेको छ भने एक वर्षसम्म रगत दिनुहुँदैन । यदि कसैलाई जण्डिस वा क्षयरोग लागेको छ भने उक्त रोग निको भएको २ वर्षसम्म रक्तदान गर्नुहुँदैन ।

सानो शल्यक्रिया गरेको भए तीन महिनासम्म र ठूलो किसिमको शल्यक्रिया भए एक वर्षसम्म रक्तदान गर्नु हुँदैन । यो रक्तदान गर्ने योग्यता पनि देश अनुसार फरक हुन्छ कि के हो ? ओहो ! यो रक्तदान गर्न योग्य हुन पनि लोकसेवाको परिक्षा पास हुनुभन्दा गा¥हो होला जस्तो छ हो ! होइन के के मात्र नियम रहेछ नि यसमा पनि । हुन त हामी कुनै वस्तुले काटेर थोरै रगत बग्दा त हत्त न पत्त टेप राख्ने कि के गर्ने भनेर आत्तिन्छौं । यति धेरै रगत निकाल्नको लागि त विचार गर्नै प¥यो नि ! हामीले दिएको रगतले अरू कसैको जीवन बचाउन सकिन्छ भन्छ । तर कसरी ? अनि यो हामीले दान गरेको रगत लगेर के गर्छ ? कस्तो विरामीहरूलाई रगत आवश्यक पर्छ ? आज म यसबारे सबै कुरा थाहापाउने प्रयास गर्छु । हामीले दिएको अर्थात दान गरेको रगत रक्तसंचार केन्द्रमा लगेर विभिन्न रोगहरू परिक्षण गर्छ । जसमा कम्तिमा पनि हेपाटाइटिस बि र सी, एचआइभी, सिफिलिस परिक्षण तथा रक्तसमूह पत्ता लगाउने आदि गर्नुपर्छ । ओहो ! यस स्मारिकामा रक्तदान सम्बन्धी कस्तो राम्रो लेखेको रहेछ । अनि त्यसपछि रोगमुक्त रगतमात्र रक्तसमूह मिलेको विरामीलाई चढाउँछ । भने पछि त रक्तदान ग¥यो भने त यी सबै रोगहरूको निःशुल्क परिक्षण पनि हुने भयो । साथै फेरि फेरि पनि रक्तदान गर्न योग्य हुनु भनेको त म पनि स्वस्थ्य भएको प्रमाण पनि त हो नि । अँ, अनि यहाँ लेखेको रहेछ कस्तो कस्तो विरामीहरूलाई उपचार गर्दा रगत चाहिन्छ भनेर । दुर्घट्नामा परेर, सुत्केरीको बेला धेरै रगत बगेकाहरूलाई, हेमोफिलिया तथा थालेसिमियाका विरामीहरूलाई, क्यान्सर रोग भएकाहरू तथा मृगौला रोगको डायलाइसिस गर्नुपर्ने विरामीहरूलाई अनि रक्तअल्पता भएकाहरू तथा ठूला ठूला शल्यक्रियाहरू जस्तै मुटुको शल्यक्रिया, मृगौला प्रत्यारोपण आदि गर्नको लागि रगत आवश्यक पर्छ । आजको दिनसम्म विज्ञानले रगतको विकल्प तयार गर्न नसकीरहेको अवस्थामा कसैलाई उपचारको लागि रगत चाहियो भने हामीजस्ता रक्तदाताहरूले नै रगत दिनु पर्छ । ओहो ! यो रक्तदान भनेको त यस्तो महत्वपूर्ण पो रहेछ ! हो, आज मैले रक्तदान गर्नै पर्छ । मैले दिएको रगतले जो कोहि होस् कसैको ज्यान बच्यो भने त त्यो भन्दा बढि पुण्यको काम अरू के हुन सक्ला र ? आज मेरो जन्मदिन पनि हो, आज मैले मन्दिरमा गएर पूजा गर्नुभन्दा त यो रक्तदान गर्नु अत्युत्तम होला जस्तो लाग्यो । त्यसैले आज म जसरी भए पनि रक्तदान गर्छु, गर्छु । अनि यो रक्तदान एकपटक मात्र गर्न सकिन्छ कि पटकपटक गर्न सकिन्छ ? खोई त यसबारे लेखेको ? यहाँ रहेछ नि ।

उमेर पुगेका व्यक्तिहरूले हरेक तीन/तीन महिनामा रक्तदान गर्न सकिन्छ । तर महिलाहरूले चाहिँ बच्चालाई स्तनपान गराइरहेको समयमा, गर्भवती भएको समयमा, महिनावारी शुरू भएको आठ दिनसम्म रक्तदान गर्न सकिंदैन । अरू त लगभग सबै उस्तै नै हो । ओहो ! धेरै बेर पो भइसकेको रहेछ । ममी, ड्याडिले सबै तयारी गरिसक्नु भयो होला । तल बसेर के के मात्र गर्दै होला भनेर सोच्दै होला । अब त माथी जानु पर्छ है … । ममी … ड्याडि ! आज म तपाईहरूलाई एउटा कुरा भन्न चाहन्छु । नरिसाउनु होस् नि फेरि । आज छोराको जन्मदिनमा रिसाउनु पनि हुँदैन नि ! अनि दिदी खोइ त ? उहाँलाई पनि धेरै कामलाग्ने कुरा हो … । त्यो के भने नि, आजबाट म रक्तदान गर्न शुरू गर्छु । आजबाट म पनि रक्तदान गर्न योग्य भएं नि । आज म यहाँ मेरो जन्मदिनको सगुन लिने काम सकेपछि रक्तदान गर्न जान्छु । यो रक्तदान भनेको त कस्तो महत्वपूर्ण काम रहेछ ! हाम्रो शरीरमा खेरजाने रगतले पनि कसैको जीवन बचाउन सकिने रहेछ नि ! अनि तपाईहरूलाई थाहा छ ? तपाईहरूले भगवानको रूपमा पूजा गर्दै आइरहनु भएको चन्द्रमामा समेत मान्छे पठाउन सक्ने विज्ञानले पनि अहिलेसम्म यो मानव रगतको विकल्पको विकास गर्न सकेको रहेन छ नि ! भने पछि हाम्रो शरीरको रगतको कति महत्व रहेछ तपाईंहरू आफै भन्नुस त ? मेरो कुरा सुनेर तपाईहरू डराउनु भयो कि के हो ? डराउनु पर्ने केहि कुरा छैन । मैले यसबारेमा सम्पूर्ण जानकारी लिइसकेको छु । तपाईहरू म अहिलेसम्म माथी नआइकन तल के गर्दै होला भनेर सोचेर बस्नुभएको होला । म त तल बसेर यहि रक्तदान सम्बन्धी लेखेको स्मारिका पढ्दै थिएं । रक्तदान गरेर केहि नहुने रहेछ । अझ १०० पटकभन्दा बढि रक्तदान गरिसकेकाहरू पनि कति जना छन् रे नेपालमा । यसबारे सबै कुरा त्यस स्मारिकामा लेखेको रहेछ । तपाईहरूले पनि फुर्सद मिलाएर एकचोटि पढ्नुस् त्यो स्मारिका । तपाईहरू आफुले रक्तदान गर्न नसके पनि अरूलाई त यसबारे बुझाउन सक्नु हुन्छ नि, होइन र ? तपाईंहरूको कुरा सुनेर, मनन गरेर थोरै मान्छेले मात्र रक्तदान गरेमा पनि उहाँहरूको रगतले कुनै न कुनै विरामीको जीवन त बच्ने नै भयो । त्यसबाट तपाईहरूलाई पनि धेरै पुण्य लाग्छ । ल है ममी, ड्याडि ! म त हिडेँ रक्तदान गर्न । तपाईहरू केहि चिन्ता लिनु पर्दैन । बरू खुशी हुनुस्न्, हाम्रो छोरा पनि रक्तदान गरेर कसैको जीवन बचाउने पुण्यकाममा लाग्ने भयाे भनेर । रक्तदान गर्न त्यस्तै ५ देखि ७ मिनेट मात्र लाग्छ रे । अनि यसो आराम र जुस सुस खाँदा त्यस्तै बढिमा आधा घण्टा, पौने घण्टामा म घरै आइपुगिहाल्छु । हस् ममी, हस् डयाडि बाई ….. ।

प्रतिक्रिया दिनुहोस्