२०८२ मंसिर ७

पहिरोले दुई छोरी खोसिएको घरमा राहत रकमसहित पुग्यो स्थानीय सरकारको हात

सिन्धुपाल्चोक — भोटेफुल्पिङको एक घर जहाँअहिले न त आवाज गुञ्जिन्छ, न त पहिलेझैँ हाँसो । असोज ८ गतेको त्यो साँझ एकै परिवारका दुई छोरी पहिरोमा बगिएपछि गाउँ नै स्तब्ध छ । परिवारको मनोबल र साहस थाम्न कठिन बनेको बेला चौतारा साँगाचोकगढी नगरपालिकाले शोकको बीचमा सहयोगको हात बढाएको छ।

आइतबार नगरप्रमुख कृष्ण प्रसाद सापकोटा आफै भोटेफुल्पिङस्थित लामा परिवारको घर पुग्दा वातावरण अत्यन्त मौन थियो । त्यही मौनताबीच बालिकाका बुबा ज्याङज्याङ लामालाई नगरपालिकाको तर्फबाट तीन लाख रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरियो । नगरप्रमुखले “पीडामा परेको परिवारसँग स्थानीय सरकार उभिन्छ” भन्ने सन्देश दिँदै परिवारलाई ढाडस दिएका थिए ।

असोज ८ गतेको त्यो घटनाको पृष्ठभूमि अझै पनि स्थानीयको मन–मस्तिष्कमा ताजा छ । असोज ८ गते, साँझ पौने ५ बजेतिर बलेफी–१, जलबिरेको भित्री सडकमा एकाएक खसेको ठूलो पहिरोले १७ वर्षीया फुलमाया लामा र ५ वर्षीया मनमाया लामालाई बगाएको थियो । उनीहरू जुगल–२, गोल्चेस्थित मामाघर जाने क्रममा विपद्को चपेटामा परेका थिए ।

घटनापछि धेरै दिनसम्म खोजी कार्य चलेको थियो । स्थानीय, प्रहरी र परिवारका सदस्यहरूको दिनरातको प्रयासपछि सानी मनमायाको शव भेटियो । तर फुलमाया भने अहिलेसम्म पनि वेपत्ता छिन् । लामो प्रयासपछि पनि कुनै सुराग फेला नपरेपछि आधिकारिक रूपमा खोजी कार्य रोकिएको थियो ।

चार सन्तानमध्ये दुई छोरी एकाएक हराएपछि लामा परिवार गहिरो पीडामा छन् । गाउँका हरेक अनुहारमा दु:ख झल्किन्छ । यही अवस्थालाई बुझ्दै नगरपालिकाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तुरुन्तै सहयोग पुर्‍याएको नगर प्रमुख बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्