सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक एवं पर्यटनस्थल पाँचपोखरी क्षेत्रमा हालको लगातार हिमपातका कारण यात्रा कठिन बनेको छ। त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनका जिम्मेवार पाँचपोखरी संरक्षण क्षेत्र विकास समितिले यात्रु र तीर्थयात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
समितिका अनुसार बाटोहरू हिउँले ढाकिएकाले अत्यन्तै चिप्लो भएका छन् । त्यसैले भ्रमणमा आउनेहरूले बलियो ग्रिप भएका जुत्ता वा बुट लगाउन, अत्यधिक चिसोबाट बच्न बाक्लो डाउनज्याकेट, तन्किने ट्राउजर, टोपी र पञ्जा प्रयोग गर्न सल्लाह दिइएको छ ।
त्यसका साथै, पाँचपोखरी क्षेत्र पहाडी भू–भागमा अवस्थित भएकाले एक्लै यात्रा नगरी अनिवार्य रूपमा स्थानीय गाइडको साथमा मात्र भ्रमण गर्न तथा यात्रा अघि मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरिएको समितिले जनाएको छ ।
आपतकालीन अवस्थाको सामना गर्नका लागि प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न सकिने जानकारी पनि समितिले दिएको छ ।
पवित्र धार्मिक स्थलका रूपमा चिनिने पाँचपोखरीमा वार्षिक रूपमा सयौँ भक्तजन तथा पर्यटक पुग्ने गर्छन्। समितिले सबै आगन्तुकलाई सुरक्षित, जिम्मेवार र पर्यावरणमैत्री पर्यटक बन्न आग्रह गर्दै पाँचपोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वको संरक्षणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्