२०८२ भाद्र ११

सत्ता–सिण्डिकेटको मनोमानी र दोहोरो मापदण्ड

‘हामीले चरा झैँ उड्न सक्यौँ, माछा झैँ पौडिन सिक्यौँ तर मानिस झैँ बाँच्न भने सिकेनौँ ।’ – जर्ज बर्नार्ड शा ।

सत्ता–सिण्डिकेटले जे गरे पनि हुन्छ भन्ने भाष्य स्थापित भयो । ‘राष्ट्रिय बा’, ‘राष्ट्रिय दाइ’ र ‘राष्ट्रिय भाउजू’को सहमतिमा संसदको संख्यागणित संवेदनशील विषयमा पनि खाली कागजमा हस्ताक्षर हुने परिपाटी बस्यो । कार्यकर्ताजब विवेकहीन नुवा बन्छ तब या त चाकर, दालदास वा भक्तजनमा फेरिएर केवल ताली पिट्ने बबुरा बने । लोकतन्त्रलाई जुत्ताको तलुवा बनाउनेहरूको बिगबिगी त पहिले नै थियो, अहिले त ‘बाउको अंश’ र ‘आमाको प्यावा’ पो भन्न थाले । यस्तो विभत्स अवस्था देख्दा हिजोका आन्दोलनकारी कसरी मौन बस्न सक्छन् ! उफ् ।

एउटै प्रकृतिका विषयमा फरक–फरक न्यायिक मापदण्ड देखिए । सहकारी भ्रष्टाचारमा सरकारी पक्ष र अन्य पक्षबीच दोहोरो फैसला भयो । मानव तस्करीमा कसैलाई जेल, कसैलाई सफाइ हुने प्रथा बस्यो । मुख्य अभियुक्तसम्म छानबिनको हात पुग्नै सकेन । अदालत र अख्तियार शंकाको घेराबाट मुक्त हुन सकेनन् । लिपुलेक सइन घाउझैं उकलियो । ओम्नी, गिरीबन्धु टी इस्टेट, ललितानिवास जस्ता प्रकरण तपशीलमा परे, तर परिणाम शून्य रह्यो । अपराधको ड्राइ क्लिनर्स अदालत बने । संविधान र सिद्धान्त कागजमा मात्र थन्किए ।

जुन सरकार आफ्ना जनतालाई खुशी पार्न सक्दैन, त्यो भय र लोभले मात्र शासन गर्छ । जुन नेताको आदर्श ढल्छ, सत्तामा बस्ने नैतिक अधिकार गुम्छ । त्यतिबेला ऊ आफ्नै हितअनुकूलको विधान तयार गरेर अनुशासनको मुंग्रो बजार्छ । पार्टीको ढोका थुन्छ, हिजा काखसम खास यारलाई पनि दोषी करार गर्छ ।

तब राष्ट्रिय हित कमजोर हुन्छ । अन्तर्राष्ट्रिय जगतमा देशलाई गम्भीरतापूर्वक लिइँदैन । छिमेकी र शक्तिशाली राष्ट्रहरू हावी हुन्छन् । कूटनीतिक अवसर गुम्छ, आत्मसम्मान हराउँछ, र देश दिशाहीन डुङ्गा झैँ बग्छ ।

नसाको दबाउनुपर्छ भन्ने कुरा अकुपञ्चरिस्टलाई थाहा हुन्छ, त्यस्तै नेताहरूलाई विपक्षको कमजोरी चिन्न सक्छन् । दुश्मनसँग लड्न नसक्नेहरू आफन्तलाई नै निशाना बनाउँछन् । त्यसैले हरेक चतुर नेताले कार्यकर्तालाई शालिन, भद्र र अनुशासित बनाएर आज्ञापालक बनाउन चाहन्छन्, ताकि उनीहरूले प्रश्न गर्न वा विद्रोह गर्न नसकून् ।

यी सबैले प्रश्नहरू ठिङ्ग उभिएर उत्तर खोज्न थाले । यो लेख आफ्नैसँगको प्रश्नोत्तर हो ।

प्रश्न र उत्तरहरू

१. जब एउटै विषयमा दुई धारणा टकराउँछन् ?

समाजमा अस्थिरता, द्विविधा र भ्रम पैदा हुन्छ । सत्य र असत्य छुट्याउने आधार धमिलिन्छ । नागरिक भ्रमित हुन्छन्, निर्णय प्रक्रिया अवरुद्ध हुन्छ, र समाज दिशाहीन यात्रु झैँ अन्धकारतिर भासिन्छ । विश्वासको मृत्यु हुन्छ ।

२. जब राष्ट्रिय सहमतिले कूटनीतिक अभ्यास गर्नुपर्ने बेला प्रधानमन्त्री घरझगडामा व्यस्त हुन्छन् ?

तब राष्ट्रिय हित कमजोर हुन्छ । अन्तर्राष्ट्रिय जगतमा देशलाई गम्भीरतापूर्वक लिइँदैन । छिमेकी र शक्तिशाली राष्ट्रहरू हावी हुन्छन् । कूटनीतिक अवसर गुम्छ, आत्मसम्मान हराउँछ, र देश दिशाहीन डुङ्गा झैँ बग्छ ।

‘वार’ र ‘प्यार’ सोचेरै गर्नुपर्छ । प्यार भावनामा हुन्छ, तर वार सोचेर र योजनाबद्ध रूपमा गर्नुपर्छ । फर्किन ठाउँ राखेर मात्रै गरिनुपर्छ । फर्किनै नसकिने गरेर पुल भाँचिदैन ।

३. जब एउटै प्रकृतिका मुद्दामा फरक फैसला हुन्छ ?

न्यायपालिकाप्रति विश्वास गम्भीर रूपमा घट्छ । असमान फैसलाले कानूनी समानताको सिद्धान्तमै चोट पुग्छ । ‘न्याय बिक्री हुन्छ’ भन्ने धारणा जन्मिन्छ । अदालत ‘संपर्क र पैसाको खेल’ को प्रतीक बन्छ । यसले लोकतन्त्रकै आधार हल्लिन्छ । सामाजिक आक्रोश बढेर विद्रोहको आधार तयार हुन्छ ।

४. जब घुस नखुवाई कुनै काम हुँदैन भन्ने जनविश्वास स्थापित हुन्छ ?

न्यायालय, प्रहरी र प्रशासन, अर्ध–न्यायिक संस्थाअविश्वसनीय, भ्रष्ट र जनविरोधी ठहरिन्छन् । नागरिक र राज्यबीचको सम्बन्ध टुट्छ । व्यवस्थापन तानाशाहीतिर लम्किन्छ । डरले डराउन छोडेपछि समाज या त अराजकतातिर जान्छ, या कुशल नेतृत्व पाए विद्रोही बन्छ ।

५. जब युवाले ‘यो देशमा केही हुँदैन’ भन्ने ठान्छन् ?

युवा राष्ट्रको ऊर्जा र भविष्यका नक्साकार हुन् । निराश भए भने देशको ढुकुटी र ऊर्जा सकिन्छ । विकास, सिर्जना र नवप्रवर्तन ठप्प हुन्छन् । देश अन्धकारमय मृत शरीर झैँ तुहिन्छ ।

६. जब धर्मनिरपेक्ष राज्यका कार्यकारिणी धार्मिक कार्यमा केन्द्रित हुन्छन् ?

नेतृत्वमा पाखण्ड छायो भन्ने हुन्छ । संगठन र आन्तरिक शक्ति कमजोर भएर गद्दी अशक्तमा पुग्यो भन्ने हुन्छ । धर्मनिरपेक्षताको मूल्य कमजोर हुन्छ । व्यवहार र नीतिमा विरोधाभास देखिन्छ । धर्मनिरपेक्षता खोक्रो औपचारिकता बन्छ, जसले कागजमा लेखिएको शब्द मात्र रहन्छ ।

७. जब भौतिकवादी कम्युनिष्ट अन्धविश्वास र रूढिवादी हुन्छन् ?

विचारधाराको पतन हुन्छ । सिद्धान्त खोक्रो नारामा सीमित हुन्छ । व्यवहारमा पाखण्डको रूप धारण गर्छ । विचारधारा आत्मा नभएको रंगीन पोशाक मात्र बन्छ । पार्टीहरू साइनबोर्डमा सजिन्छन् ।

८. जब पर्वहरू तुजुक देखाउने थलो बन्छन् ?

संस्कार र संस्कृतिको आत्मा हराउँछ । पर्वहरू तुजुक प्रदर्शनको माध्यम बन्छन् । संस्कृति व्यापारिक, प्रतिस्पर्धात्मक र खोक्रो हुन्छ ।

बिटमार्दै गर्दा,

कुनै पनि गलत कुराको खण्डन नगर्नु बौद्धिक अपराध हो । यदि तिमी चुप छौ भने या त भयग्रस्त छौ, या त भ्रममा परेका छौ, वा ‘गुम्ला कि पाउँला’ भन्ने त्रासले त्रसित छौं ।

यी सबै अवस्थाले एउटै सन्देश दिन्छन् : विश्वास मरेपछि समाज बाँच्दैन, मूल्य हराएपछि संस्कृति टिक्दैन । निराश नागरिक, पाखण्डी नेता, अन्यायी न्याय र खोक्रो संस्कृतिको घालमेल भएपछि राष्ट्र पतनको खतरनाक मोडमा पुग्छ ।

राष्ट्रलाई बचाइराख्ने शक्ति भौतिक संरचना होइन—विश्वास, न्याय, आशा र आत्माको ज्वाला हो ।

 

जन आस्था

प्रतिक्रिया दिनुहोस्