२०८२ भाद्र १२

चिकित्सा अपराधका दृष्टान्त: बचाउनेले मार्न पनि सक्छन्

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा केही डाक्टर र नर्सको गल्तीका कारण नागरिकले शारीरिक, मानसिक र आर्थिक दुःख भोग्नुपरेको देखिन्छ। गलत निदान, शल्यक्रियामा त्रुटि, अमर्यादित व्यवहार, यौन दुर्व्यवहारजस्ता घटना हुने गरेका छन्।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को अनुगमन प्रणाली निकै सशक्त, चरणबद्ध र संस्थागत रूपमा सुव्यवस्थित छ। यसले अस्पताल, डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको सेवा गुणस्तर, व्यवहार र उत्तरदायित्वमा निरन्तर निगरानी राख्छ। यस प्रणालीको प्रमुख नियामक निकाय केयर क्वालिटी कमिसन (सीक्यूसी) हो, जसले एनएचएस अन्तर्गतका अस्पताल, जीपी सर्जरी, केयर होम र निजी स्वास्थ्य संस्थाहरूको नियमित निरीक्षण गर्छ। सीक्यूसीले सेवाको गुणस्तर मूल्यांकन गरी ‘आउटस्ट्यान्डिङ’देखि ‘इनएडिक्वेट’ सम्मको श्रेणी निर्धारण गर्छ र आवश्यक परे सेवाको अनुमति रद्द गर्ने अधिकार पनि राख्छ।

बेलायतमा स्वास्थ्यकर्मीको व्यक्तिगत आचरण र योग्यता नियमन गर्ने संस्था पनि सक्रिय छन्। जनरल मेडिकल काउन्सिल (जीएमसी) ले सबै डाक्टरको दर्ता, पेसागत आचरण, योग्यता र अनुशासनको निगरानी गर्छ। अनुचित व्यवहार/आचरण वा लापरबाहीका उजुरीमा अनुसन्धान गरी जीएमसीले डाक्टरको लाइसेन्स निलम्बन वा खारेज गर्न सक्छ। त्यस्तै, नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएमसी) ले नर्स र मिडवाइफको पंजीकरण, नैतिकता र अनुशासनको मूल्यांकन गर्छ। फिजियोथेरापिस्ट, रेडियोग्राफर, साइकोलोजिस्टजस्ता ‘एलाइड हेल्थ प्रोफेसनल्स’को निगरानी भने हेल्थ एन्ड केयर प्रोफेसनस काउन्सिल (एचसीपिसी) ले गर्छ।

संगठनात्मक स्तरमा, एनएचएस इंग्ल्यान्ड र एनएचएस इम्प्रुभमेन्टले सम्पूर्ण एनएचएस प्रणालीको रणनीति, बजेट व्यवस्थापन र सेवा सुधारको नेतृत्व गर्छन्। यिनीहरूले अस्पताल र ट्रस्टहरूको प्रदर्शन मूल्यांकन, नियमित लेखापालन तथा सुधारात्मक कार्ययोजना निर्माण गर्छन्। साथै, एनएचएस मा ‘ह्विसलब्लोइङ’ नीति लागू गरिएको छ, जसअन्तर्गत कुनै पनि स्वास्थ्यकर्मीले डर वा दबाबबिना लापरबाही, दुर्व्यवहार वा जोखिमबारे उजुरी गर्न पाउँछन्। यस्तै, ‘ड्युटी अफ क्यान्डर’ नामक कानुनी व्यवस्थाअनुसार अस्पताल वा सेवा प्रदायक संस्थाबाट कुनै गम्भीर गल्ती वा हानि भएको खण्डमा बिरामी वा परिवारलाई सोबारे सत्य जानकारी दिन कानुनी रूपमा बाध्य हुन्छन्।

अनुगमनलाई अझ पारदर्शी बनाउने उद्देश्यले एनएचएस डिजिटलले सेवासम्बन्धी तथ्यांक संकलन, विश्लेषण र सार्वजनिक प्रतिवेदन तयार गर्छ। त्यस्तै, पेसेन्ट फिडब्याक, अनलाइन रिभ्यु, सेफ्टी अलर्ट र इन्सिडेन्ट रिपोर्टिङ सिस्टममार्फत सेवा गुणस्तरको निरन्तर मूल्यांकन गरिन्छ। यी सबै संयन्त्रले एनएचएसलाई सुरक्षित, पारदर्शी, उत्तरदायी र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली बनाउने दिशामा निरन्तर प्रयास गरिरहेका छन्। तथापि, समय–समयमा देखिने गम्भीर लापरबाहीका घटनाले यो प्रणालीलाई अझ प्रभावकारी बनाउने खाँचो पनि औँल्याउँछन्।

यी सारा व्यवस्था र निगरानीका बाबजुद बेलायतमा केही डाक्टर र नर्सहरूको गल्ती वा अनुचित व्यवहारका कारण धेरै नागरिकले शारीरिक, मानसिक र आर्थिक दुःख भोग्नुपरेको देखिन्छ। गलत निदान, अनावश्यक वा गलत उपचार, शल्यक्रियामा त्रुटि, बिरामीसँग अमर्यादित व्यवहार र यौन दुर्व्यवहारजस्ता घटना हुने गरेका छन्। प्रत्येक वर्ष हजारौँ व्यक्तिले एनएचएसमा लापरबाहीबारे उजुरी दर्ता गर्छन् र अर्बौं पाउन्ड क्षतिपूर्ति दाबी गरिन्छ। गम्भीर लापरबाही गर्ने डाक्टर र नर्सविरुद्ध सयौँ उजुरी पर्न जान्छन्, जसअनुसार कतिलाई चेतावनी दिइन्छ, कतिको लाइसेन्स रद्द गरिन्छ र केहीलाई कारावाससम्मको सजाय सुनाइन्छ।

हजारौँ बिरामीको हत्या
बेलायतमा स्वास्थ्यकर्मीहरूद्वारा गरिएका आपराधिक गतिविधिहरूले एनएचएसको विश्वसनीयता र बिरामीको सुरक्षामा गम्भीर प्रश्न उठाउने गरेका पनि छन्। केही घटना त अत्यन्तै क्रूर र झस्काउने खालका छन्। उदाहरणका लागि हारोल्ड सिपमन बेलायतको  इतिहासकै सबैभन्दा कुख्यात चिकित्सकमध्ये एक हुन्। आफ्ना बिरामीलाई जानिबुझी हत्या गरेको अपराधमा दोषी ठहरिएका थिए उनी। जनरल प्राक्टिस (जीपी) डाक्टर रहेका उनले करिब २५ वर्षसम्म सेवा प्रदान गर्दै आएका थिए। तर आफ्नो ‘सेवा अवधि’मा सिपमनले बिरामीहरूलाई औषधिमार्फत  मारेको पत्ता लाग्यो।  उनले हत्या गरेको बिरामीको संख्या हजारौँ पुगेको विश्वास गरिन्छ।

निसानामा साना नानी
अर्को ठूलो प्रकरण बेभर्ली एलीटको हो, जसले १९९१ मा लिंकनसायरको ग्रानथम एन्ड केस्टेभेन अस्पतालमा नर्सको रूपमा काम गर्दा १३ जना नानीहरूलाई निशाना बनान्। उनले बच्चाहरूलाई इन्सुलिन र पोटासियमको घातक मात्रा दिई अकस्मात् हृदयाघात गराउन योगदान गर्थिन्। त्यस क्रममा चार बालबालिकाको मृत्यु भयो र नौ जना गम्भीर रूपमा घाइते भए। उनलाई १९९३ मा ‘अस्पताल सिरियल किलर’ भनेर घोषणा गर्‍यो र आजीवन जेल सजाय दिइयो।

लुसी लेटबी बेलायतकी नर्स हुन्, जसले स्वास्थ्य क्षेत्रमा भयावह अपराध गरेको आरोपमा जेल सजाय पाएकी छिन्। उनलाई नवजात शिशुको मृत्यु र चोटपटकका सम्बन्धमा दोषी ठहर गरिएको थियो। लुसीले आफ्नो जिम्मेवारीमा रहेका शिशुलाई जानी बुझेर हानि पुर्‍याएको र कतिपयको मृत्युको कारण बनेको पाइयो। लेटबीमाथि १० भन्दा बढी शिशुको हत्या र धेरैलाई चोट पुर्‍याएको आरोप लागेका थिए। उनलाई सन् २०२३ मा दोषी ठहर गरिएको थियो। त्यसपछि आजीवन कारावास सजाय सुनाइएको छ। यस घटनाले सुरक्षा व्यवस्था र निगरानी प्रणाली कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा पुनः उजागर गरेको छ। लुसी लेटबीको अपराधले स्वास्थ्य क्षेत्रका कर्मचारीमा पारदर्शिता, जिम्मेवारी र बिरामी सुरक्षाको महत्त्व थप बलियो बनाउने काम गरेको छ।

अनुचित शल्यक्रिया
डाक्टर इयान पाटर्सन अर्को डरलाग्दो उदाहरण हुन्, जो बर्मिंघम र सोलीहुलका अस्पतालहरूमा सर्जन थिए। उनले सयौँ महिलालाई आवश्यकता नै नभएको स्तन शल्यक्रिया गरे, क्यान्सरको डर देखाई अनावश्यक ‘उपचार’ गरे। धेरैलाई शारीरिक र मानसिक रूपमा अपूरणीय क्षति पुर्‍याए। उनले २० वर्ष जेल सजाय पाए र हाल कैदमा छन्। यस घटनापछि राष्ट्रिय स्वास्थ्य सेवाले शल्यक्रियामा ‘दोस्रो राय प्रणाली’ (बिरामीले आफ्नो निदान वा उपचार योजनाबारे दोस्रो चिकित्सक वा विशेषज्ञको स्वतन्त्र राय लिने प्रक्रिया) लाई अझ कडा बनायो।

विष हालेर बिरामीको हत्या
‘डाक्टर डेथ’ भनेर चिनिने माइकल स्वांगो नामका डाक्टरले अमेरिका र अफ्रिकामा काम गरेका थिए। उनले बिरामीलाई विष हालेर मार्ने गर्थे। उनले बेलायतमा पनि काम गर्ने प्रयास गरे, तर डाक्टर परिषद्ले उनलाई लाइसेन्स दिन अस्वीकार गर्‍यो, किनकि उनीमाथि अमेरिका र जिम्बाब्वेमा सयौँ हत्या प्रयासका आरोप प्रमाणित भइसकेका थिए। अन्ततः उनलाई अमेरिका फर्काएर  आजीवन जेल सजाय दिइयो।

यौन दुर्व्यवहार र हत्या प्रयास
डाक्टर क्लिफोर्ड एइलिङको मुद्दा उत्तिकै कुख्यात छ। उनले धेरै वर्षसम्म महिला बिरामीलाई जाँचको बहानामा यौन दुर्व्यवहार गरे। धेरै महिलाले पछि उजुरी गरेपछि उनलाई १५ वर्षको जेल सजाय भयो र त्यहाँको चिकित्सक परिषद्ले उनको लाइसेन्स खारेज गर्‍यो। नर्स भिक्टोरिनो चुआले पनि ग्रेटर म्यानचेस्टरको स्टेप्पिङ हिल अस्पतालमा दर्जनौँ बिरामीको ड्रिपमा इन्सुलिन मिसाएर हत्या प्रयास गरे। धेरै बिरामीमा अचानक रक्तचाप र चिनीको स्तर घटेर ज्यान गयो वा ज्यान जोगिएका बिरामी पनि लामो समय बेहोस भए। अदालतले उनलाई २५ वर्षभन्दा बढीको जेल सजाय सुनायो।

पूर्वपारिवारिक डाक्टर डा. स्टेफेन कोक्सले १९८० र १९९० को दशकमा ब्र्याकनेलस्थित क्लिनिकमा नियमित स्वास्थ्य परीक्षणको बहानामा १२ जना महिला बिरामीमाथि यौन दुर्व्यवहार गरेका थिए। उनलाई रेडिङ क्राउन अदालतले दोषी ठहर गर्दै २२ वर्षको जेल सजाय सुनाएको थियो र आजीवन यौन अपराधीको सूचीमा राखिएको छ।

डा. मोहन बाबु नामका एक पूर्व जीपी (एम्सवर्थ, ह्याम्पुसायर) ले परामर्शका क्रममा तीन महिला बिरामीमाथि यौन दुर्व्यवहार गरेका थिए। तीमध्ये एक जना गम्भीर खालको क्यान्सरकी बिरामी थिइन्। पोर्ट्समाउथ क्राउन अदालतले उनलाई साढे तीन वर्षको जेल सजाय दियो र आजीवन यौन अपराधी सूचीमा राखिए। बाबुले बिरामीहरूलाई अनुचित रूपमा छुने, नंग्याउने र यौनजन्य व्यवहार प्रस्तुत गरेको पुष्टि भएको थियो।

बुस्टरको नाममा किटनाशक
त्यस्तै, सन्डरल्यान्डका सम्मानित जीपी डा. थोमस क्वानले आफ्नै आमाको पार्टनर प्याट्रिक ओहारामाथि ‘कोभिड बुस्टर’को नाउँमा कीटनाशक सुई लगाएर हत्या प्रयास गरेका थिए। सम्पत्ति विवादको कारण उनले नर्सको भेषमा घरमै पुगेर उपचार गरेका थिए, जसबाट प्याट्रिकमा गम्भीर संक्रमण भई जीवनभर असर पर्ने रोगहरू लाग्यो। न्यूक्यासल क्राउन अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेलको सिफारिस गरेको थियो।

नाबालकहरूमाथि असुरक्षित ‘सर्कमसिसन’
सर्जन डा. मोहम्मद सिद्दिकीलाई २०१५ मा जीएमसी दर्ताबाट हटाइएको थियो। उनले मोबाइलमार्फत सन् २०१२–२०१३ को बीचमा देशभर नाबालकहरूमाथि असुरक्षित र गैर–चिकित्सकीय खालको सर्कमसिसन (लिङ्गको छाला काट्ने धार्मिक अभ्यास) सेवा दिएको पाइयो। साउथवार्क क्राउन अदालतले उनलाई बाल क्रूरता, शारीरिक हानि र गैरकानुनी औषधि प्रयोगजस्ता अभियोगमा दोषी ठहर गर्‍यो।

बेलायतमा भएका यी घटनाले देखाउँछन् कि स्वास्थ्य सेवाभित्र लुकेका अपराधहरू कहिलेकाहीँ अत्यन्त भयावह हुन सक्छन्। यस्ता अपराध रोक्न निगरानी संयन्त्रहरू अझ कडा, पारदर्शी र प्रभावकारी हुन आवश्यक छ। बिरामीले अत्यन्त भर मान्ने मान्ने डाक्टर र नर्सहरूबाट नै यस प्रकारका घटनाहरू हुनु मानव सभ्यताकै कलंक हुन्।

नेपालमा चिकित्सकीय लापरबाहीका घटना हेर्ने कानूनी र व्यवहारिक व्यवस्थामा केही जटिलता छन्। दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिबारे कहिलेकाहीँ अन्योल देखिन्छ। चिकित्सक समुदाय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, उपभोक्ता अदालत र सेवाग्राहीबीच एक किसिमको द्वन्द्व छ । मेडिकल काउन्सिलले प्रभावकारी रूपमा काम नगरेको समेत आरोप छन्।

माथि उल्लेखित बेलायतका घटनामा चिकित्सकले जानी बुझीकन अपराध गरेको बुझिन्छ, जसमा त्यहाँका कानूनी र नियामक निकायले न्याय दिने प्रयास गरेको बुझिन्छ। आम रूपमा भने चिकित्सकले बिरामीको हत्या गर्न पक्कै खोज्दैन। कहिलेकाहीँ चिकित्सकले चाहँदा चाहँदै पनि अपवादमा बिरामीको अवस्था नसुध्रन सक्छ अथवा ज्यानै समेत जान सक्छ। त्यो त्रुटि नभई भवितव्य हो। तर यस्तो सन्दर्भमा बिरामी वा मृतकका आफन्तले अस्पताल तोडफोड र चिकित्सकमाथि हातपात गर्छन्, कतिपय अवस्थामा सेवाग्राही पीडित पनि हुन्छन्।

उसो त बेलाबेला चिकित्सक तथा चिकित्सकका नाममा भएका गैरव्यावसायिक कर्म र कुकर्महरू बेलाबेला सार्वजनिक हुन्छन्, तर तुलनात्मक रूपमा हाम्रो समाजमा पीडितले सहजै प्रशासन र कानूनको सहायता नखोज्ने/खोज्न नसक्ने हुनाले पनि अपराधका कतिपय घटना छिपेका हुन सक्छन्। उल्लेखित स्वास्थ्य अपराधका सन्दर्भले नेपाली चिकित्सा क्षेत्र, नियामक निकाय र आम सर्वसाधारणले पाठ सिक्न र सचेत हुन सक्छन्।

(अधिवक्ता श्रेष्ठ दुई दशकयता बेलायतमा छन्।)

प्रतिक्रिया दिनुहोस्