२०८२ असार २
                           

महिलाहरूको सशक्तिकरणमा संवेदनशील बन्दै नगरपालिका

चौतारा, सिन्धुपाल्चोक – महिलाहरूको सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा सञ्चालित दुई तालिमहरू “६५ दिने एडभान्स पार्लर तालिम र १ महिने गलैंचा बुनाई तालिम” को संयुक्त समापन कार्यक्रम एकैसाथ सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले यस्ता सिपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा मार्गनिर्देश गर्ने बताउँदै नगरपालिकाले आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक तथा आर्थिक रूपमा सबल महिला नै समृद्ध नगरको आधार भएको र यस्ता कार्यक्रमहरूले सिंगो नगरलाई नै विकास तर्फ उन्मुख गराउने बताए। नगर प्रमुख सापकोटाले तालिमलाई तालिममा मात्र सिमित नराखी व्यवसाय तर्फ लैजान सहभागीहरूलाई सुझाव दिएकाछन्।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठ ले आफ्नो वडामा दुई फरक सिपमूलक तालिम एकैपटक समापन गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरे। उनले वडाका महिलाहरूलाई सिकेका सीपलाई व्यवहारमा उतार्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउदै सफल व्यवसायी जीवनको शुभकामना समेत व्यक्त गरे।

६५ दिने एडभान्स पार्लर तालिम चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो। त्यस्तै, गलैंचा बुनाई तालिम वडा स्तरीय महिला सञ्जालको आयोजनामा तथा वडा नं. ५ कार्यालयको समन्वय र सहयोगमा सञ्चालन गरिएको थियो।

तालिमका प्रशिक्षकहरूले सहभागीहरूले सिकाइप्रति गहिरो रुचि देखाएको बताउँदै महिलाहरूको सक्रिय सहभागिता, जिज्ञासा र व्यवहारिक अभ्यासले यो तालिम निकै सफल रहेको बताए । साना लगानीमै व्यवसाय सुरु गर्न सक्ने स्तरमा सहभागीहरू पुगेका छन्। यसले उनीहरूलाई व्यवसायी मात्र नबनाई एक कुशल प्रशिक्षकको रूपमा समेत विकास गर्ने अपेक्षा रहेको छ। साथै हाम्रो नेपाली मौलिकता झल्किने गलैंचाको सीपलाई अब महिलाहरूले आम्दानीको माध्यम बनाउने आशा समेत प्रशिक्षक तथा आयोजकहरूको रहेको छ।

सहभागीहरूले तालिम बाट आफूले सिकेको ज्ञान र सीपले व्यवसाय  तर्फ उन्मुख हुने बाटो खोलिएको बताएका छन्। यस्ता कार्यक्रमहरूले महिला आत्मनिर्भरता र सशक्तीकरणमा समेत टेवा पुग्ने विश्वास रहेको उनीहरू बताउँछन्।

समापन समारोहमा प्रमाणपत्र वितरणसहित गलैंचा तालिमका सहभागीहरूलाई गलैंचाको तान धागो वितरण गरिएको थिए। कार्यक्रममा जनप्रतिनिधिहरू, तालिम प्रशिक्षक, सहभागिहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्