२०८३ आश्विन २७

‘विपद्‌मैत्री संरचनाको अवधारणामा अघि बढ्नुपर्छ’ : सांसद दुलाल

सिन्धुपाल्चोक । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद युवराज दुलालले सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणका लागि विपद्‌मैत्री संरचना निर्माण गर्दै पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आयोजित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति बैठक एवं विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण र आगामी योजनासम्बन्धी कार्यशालामा बोल्दै सांसद दुलालले जिल्लाको भौगोलिक अवस्था र विपद्को जोखिमलाई मध्यनजर गर्दै हरेक हिसाबले तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।
सिन्धुपाल्चोक विपद्को उच्च जोखिममा रहेको जिल्ला भएकाले यस वास्तविकतालाई स्वीकार गर्दै विपद् सामना गर्न सक्ने संरचना निर्माण, पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन र आवश्यक पूर्वतयारीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । विपद् आइसकेपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनुभन्दा जोखिम न्यूनीकरण तथा सम्भावित क्षति कम गर्ने योजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।


दुलालले जिल्लाका विपद्सम्बन्धी समस्या र आवश्यकताबारे संघीय सरकारको ध्यानाकर्षण गराउन सकिने उल्लेख गर्दै त्यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । जिल्लाको विकास र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले अस्वस्थ राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर जिल्लाको विकास, जनताको सुरक्षा र विपद् जोखिम न्यूनीकरणका सवालमा सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अवस्था, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उपाय र आगामी दिनमा अवलम्बन गर्नुपर्ने योजनाका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्