२०८३ आश्विन २४

सिन्धुपाल्चोकमा शिक्षक, विद्यार्थी, विद्यालय र पत्रकार सम्मानित

सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिका–१० ले शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने शिक्षक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय तथा पत्रकारलाई सम्मान गरेको छ । वडाले २५ जना शिक्षक, एसईई र कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थी, एक विद्यालय तथा चार जना पत्रकारलाई नगद पुरस्कार, प्रमाणपत्र र खादा प्रदान गरेको हो ।
वडाले श्री भीमसेन माध्यमिक विद्यालय, श्री सुकुटे माध्यमिक विद्यालय र रामदेवी माध्यमिक विद्यालयका उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको हो । उत्कृष्ट शिक्षकले जनही तीन हजार रुपैयाँ नगद, प्रमाणपत्र र खादा पाएका छन्। उत्कृष्ट विद्यालयलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको छ । विद्यार्थीलाई शैक्षिक उपलब्धिका आधारमा नगद पुरस्कार र प्रमाणपत्र दिइएको थियो ।
आयोजकका अनुसार कक्षा ८ का उत्कृष्ट विद्यार्थीले जनही तीन हजार रुपैयाँ र एसईईका उत्कृष्ट विद्यार्थीले जनही चार हजार रुपैयाँ पाएका छन् । शतप्रतिशत नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो ।
सोही अवसरमा कान्तिपुर टेलिभिजनकी संवाददाता कमला पाख्रीन, जनता पत्रकी सुनिता रखाल र नेत्रज्योति सञ्चालक नेत्रबहादुर बस्नेतसहित चार जना पत्रकारलाई पनि सम्मान गरिएको छ ।
वडाध्यक्ष नीलबहादुर तामाङले वडाभित्रका तीनवटै माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विद्यार्थी, शिक्षक र विद्यालयलाई प्रोत्साहनस्वरूप पुरस्कार तथा सम्मान गर्दै आएको बताए । सम्मानले शिक्षक र विद्यार्थीलाई थप मेहनत गर्न प्रेरणा मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्