२०८३ आश्विन १७

स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो

चौतारा/ जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम भएको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम तथा विभिन्न जनस्वास्थ्य सेवाका सूचकका आधारमा गरेको मूल्यांकनमा सुनकोशी प्रथम भएको हो।

मूल्यांकनमा पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो, त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो र हेलम्बु गाउँपालिका सान्त्वना भएको छ।

स्वास्थ्य कार्यालयको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापनका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन, सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा उत्कृष्ट पालिका छनोट गरिएको हो।

जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक अस्मिता श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा सूचकमा प्राप्त उपलब्धिका आधारमा पालिकाहरूको मूल्यांकन गरिएको हो।

मूल्यांकनमा उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेललगायतले सम्मान गर्नुभएको जनस्वास्थ्य अधिकृत निसान सापकोटाले जानकारी दिनुभयो।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापनलगायतका क्षेत्रमा पालिकाहरूले गरेको कार्यसम्पादनलाई मूल्यांकनको आधार बनाइएको जनाइएको छ।

स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनमा उत्कृष्ट पालिकालाई सम्मान गर्ने अभ्यासले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्