२०८३ जेष्ठ २२

सबै मिल्दा मात्रै अघि बढ्छ सिन्धुपाल्चोक: सांसद दुलाल

बुढीचौर/ प्रतिनिधि सभा सदस्य युवराज दुलालले विकासका लागि राजनीतिक विवादभन्दा माथि उठेर सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
इन्द्रावती गाउँपालिका–१० बुढीचौरमा आयोजित दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ लाई सम्बोधन गर्दै उनले “विरोध मात्रै गरेर विकास सम्भव नहुने” भन्दै साझा प्रयासमार्फत अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
सांसद दुलालले आफू सम्पूर्ण क्षेत्रको प्रतिनिधि भएकाले विकासमा कुनै भेदभाव नगरी सबै ठाउँलाई समान प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेश सरकारमा रहँदा इन्द्रावती गाउँपालिकामा उल्लेख्य बजेट भित्र्याएको स्मरण गर्दै अहिले सुरु भएका योजना पूरा गर्नु आफ्नो जिम्मेवारी भएको बताए।
विशेष गरी बुढीचौर क्षेत्रको दीर्घकालीन विकासका लागि संरचना निर्माणमा आफू सुरुदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर डीपीआर अनुसार विकास गर्नु अहिलेको आवश्यकता हो,” उनले भने।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नं. १० का अध्यक्ष रामचन्द्र घिमिरे, वडा नं. ९ का अध्यक्ष बाबुराम लामा, वडा नं. ११ का अध्यक्ष रामजी माझी तथा वडा नं. १० का पूर्व अध्यक्ष जीवन थापा मगर लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्