२०८२ चैत्र १४

११औँ राष्ट्रिय रक्तदाता दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं/ ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा ११औँ राष्ट्रिय रक्तदाता दिवस तथा सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपा ब्याङ्क्वेट, खुशिबु काठमाडौंमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मिडिया एलायन्सका अध्यक्ष तथा ब्लोदान संरक्षक भाष्करराज राजकर्णिकार रहनुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव मचाकाजी महर्जन ले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी गरिएको थियो। उपाध्यक्ष उज्ज्वल केसी ले स्वागत मन्तव्य व्यक्त गर्दै ब्लोदानका गतिविधि र उद्देश्यबारे प्रकाश पार्नुभयो। सो अवसरमा ब्लोदानका केन्द्रीय सदस्य रुकेस रन्जित हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएको जानकारी दिँदै रक्तदान सम्बन्धी नीति तथा कानुन समयानुकूल बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज का अध्यक्ष प्रेम सागर कर्मचार्य द्वारा पठाइएको शुभकामना सन्देश महासचिवले वाचन गर्नुभएको थियो। त्यस्तै, काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक अधिकारी ले रक्तदान अभियानलाई निरन्तरता दिन र नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

ब्लोदानकी संस्थापक तथा सल्लाहकार समिति संयोजक सूर्यकुमारी श्रेष्ठ ले रक्तदाता दिवसको सुरुवातप्रति खुशी व्यक्त गर्दै रक्तदातालाई निरन्तर प्रेरित गर्नुपर्ने र संस्थामा अनावश्यक राजनीति नगर्न आग्रह गर्नुभयो। उहाँले राजपरिवारले समेत रक्तदान गरेको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्नुभयो।

ब्लड डोनर्स अफ अमेरिका का अध्यक्ष महेश्वर पन्त ले नेपाल र अमेरिकाबीच रक्तदान अभियानमा सहकार्य गर्न तयार रहेको बताउँदै आवश्यक रगतको कम्तीमा १ प्रतिशत नेपाली समुदायले निःशुल्क उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी का महामन्त्री मीनबहादुर मल्ल ले संस्थाको नीतिगत सुधार तथा आगामी लोकतान्त्रिक नेतृत्व चयन प्रक्रियाबारे जानकारी दिनुभयो। निवर्तमान अध्यक्ष सानुबाबु प्रजापति ले ब्लोदान सबै संस्थागत सदस्यहरूको साझा संस्था भएको उल्लेख गर्दै रक्तदान अभियानलाई अझ व्यापक बनाउने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा ३० वटा संघ–संस्थालाई सम्मान गरिएको थियो। साथै ब्लोदानका पूर्व अध्यक्ष स्वर्गीय महेन्द्र बिलास जोशी लाई मरणोपरान्त सम्मान प्रदान गरियो। प्रतिनिधिसभा सदस्यमा निर्वाचित रुकेस रन्जित लाई समेत बधाई तथा सम्मान गरिएको थियो। सम्मानपछि मन्तव्य व्यक्त गर्दै उहाँले रक्तदानसम्बन्धी नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख अतिथि भाष्करराज राजकर्णिकार ले रक्तदान अभियानलाई सामाजिक सञ्जालमार्फत थप व्यापक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वयंसेवाको भावना विस्तार गर्नुपर्ने बताउनुभयो। साथै रेडक्रससँग सहकार्य गरी ब्लोदानलाई थप संस्थागत मजबुती दिन आग्रह गर्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेश श्रेष्ठ ले धन्यवाद ज्ञापन गर्दै रक्तदानलाई “अनमोल उपहार”को रूपमा व्याख्या गर्नुभयो। उहाँले नेपालका प्रथम रक्तदाता दयावीर सिंह कंसाकार, प्रथम महिला रक्तदाता तारादेवी तुलाधर तथा दुर्लभ रक्तदाता रामेश्वर प्रसाद श्रेष्ठ को योगदान स्मरण गर्नुभयो।

ब्लोदानले आगामी दिनमा २५ जिल्लामा शाखा विस्तार गर्ने, युवा तथा महिला रक्तदाता अभियानलाई अघि बढाउने तथा रक्त व्यवस्थापन प्रणालीलाई पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिँदै “रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउन नपरोस्” भन्ने प्रतिबद्धता दोहोर्‍याउँदै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्