२०८२ चैत्र १२

सिन्धुपाल्चोकमा आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न, वैशाख २ देखि गणना सुरु हुने

सिन्धुपाल्चोक — राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत सिन्धुपाल्चोक जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूलाई गणनाको आवश्यकता र सहभागिताबारे जानकारी गराइएको थियो ।
नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्ने आर्थिक गणना देशभरका सबै वडा, स्थानीय तह, जिल्ला र प्रदेशमा एकसाथ गरिनेछ । तथ्याङ्क सङ्कलन कार्य वि.सं. २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गुणस्तरीय, विश्वसनीय र समयसापेक्ष आर्थिक तथ्याङ्क संकलनका लागि आर्थिक गणना महत्वपूर्ण हुने बताए । उनले यस्ता तथ्याङ्कले नीति निर्माण तथा विकास योजनालाई प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गरे ।


त्यस्तै, जिल्ला आर्थिक गणना अधिकारी केदार वन्जाराले अर्थतन्त्रलाई सुदृढ बनाउन र विकासलाई व्यवस्थित गर्न सबै प्रकारका आर्थिक गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाको सहभागिता आवश्यक रहेको बताए । उनले दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका व्यवसायलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरे ।
यस आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक क्षेत्रअन्तर्गत कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन्, उद्योग, विद्युत तथा ग्यास, निर्माण, व्यापार, यातायात, आवास तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्त तथा बीमा, घरजग्गा, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका विविध आर्थिक क्रियाकलाप समेटिनेछन् ।
आर्थिक गणनाबाट देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान पहिचान गर्न, रोजगारीको अवस्था चित्रण गर्न, लगानी प्रवर्द्धनका लागि तथ्याङ्क उपलब्ध गराउन तथा राष्ट्रिय र स्थानीयस्तरमा आर्थिक सम्भाव्यता पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्