सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले किसानहरूले उत्पादन गरेको आलु शीत भण्डार (कोल्ड स्टोर) मा राख्दा लाग्ने शुल्कमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ।
उक्त सुविधा अन्तर्गत आलुलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुबिन्डेमा रहेको शीत भण्डारमा भण्डारण गरिने व्यवस्था मिलाइएको छ।
भण्डारण गर्दा लाग्ने कुल खर्चको आधा रकम गाउँपालिकाले व्यहोर्ने छ भने बाँकी ५० प्रतिशत रकम सम्बन्धित कृषक वा समूहले बेहोर्नुपर्नेछ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूह, सहकारी वा फार्महरूले आफ्नो आलुको परिमाण खुलाएर ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
यो कदमले सिजनमा उचित मूल्य नपाउने समस्यालाई समाधान गरी किसानहरूको आम्दानी वृद्धि गर्न र उत्पादन सुरक्षित राख्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
११ चैत, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले स्थानीय किसानहरूलाई लक्षित गर्दै महत्वपूर्ण र उदाहरणीय निर्णय गरेको छ। गाउँपालिकाले किसानहरूले उत्पादन गरेको आलुलाई सुरक्षित रूपमा भण्डारण गर्न शीत भण्डार (कोल्ड स्टोर) शुल्कमा ५० प्रतिशत लागत साझेदारी गर्ने घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका अनुसार यस अघि नै किसानसँग भएको छलफलका आधारमा पालिकाले औपचारिक निर्णय गरेको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ (कुबिन्डे) मा रहेको शीत भण्डारमा आलु राख्दा लाग्ने कुल खर्चको आधा रकम पालिकाले बेहोर्ने जानकारी दिएको छ।
गाउँ कार्यपालिकाको मिति २०८२/१२/१० गतेको निर्णयानुसार, बलेफी क्षेत्रका किसानहरूले उत्पादन गरेको आलु भण्डारण गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत रकम बलेफी गाउँपालिकाले बेहोर्ने छ । बाँकी ५० प्रतिशत रकम: सम्बन्धित कृषक स्वयंले बेहोर्नुपर्ने छ ।
यो सुविधा लिन इच्छुक कृषक समूह, सहकारी वा फार्महरूले आफूले भण्डारण गर्न चाहेको आलुको परिमाण खुलाएर सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। सिजनमा आलुको मूल्य नपाउने र उचित भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका किसानहरूका लागि यो निर्णयले ठूलो राहत पुग्ने छ। अब किसानहरूले आफ्नो उत्पादनलाई सुरक्षित राखेर बजारमा राम्रो मूल्य पाएको समयमा बिक्री गर्न सक्नेछन्।
गाउँपालिकाको यो कदमले कृषि उत्पादनको व्यवसायीकरण र किसानको आम्दानी वृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ। प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतद्वारा हस्ताक्षरित सूचनामा लक्षित वर्गलाई समयमै प्रक्रिया पुर्याएर सहभागी हुन आह्वान गरिएको छ।
पालुवान्युजबाट
प्रतिक्रिया दिनुहोस्