चोैतारा | सिन्धुपाल्चोकको चौतारा अस्पतालले ५० शैयासहितको अस्पतालमध्ये नेपालकै उत्कृष्ट बन्ने गौरव हासिल गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
अनुगमनमा प्रशासनिक व्यवस्थापन, क्लिनिकल सेवा प्रवाह र अस्पताल सपोर्ट सेवामा अस्पतालले क्रमशः ९७, ९५ र ९७ प्रतिशत अंक हासिल गरेको जानकारी दिइएको छ । अनुगमन टोलीका सदस्य, बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र तामाङले भने, “चौतारा अस्पतालको रेकर्डिङ, नियमित मर्निङ कन्फरेन्स, डेटा भेरिफिकेशन लगायतका कामहरू साँच्चिकै उत्कृष्ट देखिएका छन् । यसले सेवा गुणस्तरमा निरन्तर सुधारको संकेत गर्दछ ।”

अस्पतालले १०० अंक मध्ये ४ अंक मात्र छुटाए पनि, आगामी वर्ष शतप्रतिशत अंक ल्याउने लक्ष्यसहित सुधारात्मक योजना अघि बढाउने जनाएको छ । यसअघि चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो ।
चौतारा अस्पतालका स्वास्थ्यकर्मीहरूले भने, “हामीसँगै सवै कर्मचारीको प्रतिबद्धता र मेहनतले नै यस्तो उपलब्धि सम्भव भएको हो । हाम्रो मुख्य लक्ष्य सदैव बिरामीको सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हो ।”
प्रतिक्रिया दिनुहोस्