२०८२ चैत्र ४

स्टार्टअप अनुदान कार्यक्रम नगरपालिकालाई हस्तान्तरण

चौतारा साँगाचोकगढी नगरपालिकाका दुईवटा वडामा कृषि तथा पशुपंछी मन्त्राालयद्वारा सञ्चालीत स्टार्टअप अनुदान अन्तर्गतका कार्यक्रम नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको वडा नं ७ र १३ मा स्टार्टअप अनुदान बापतको कार्यक्रम सञ्चालन भएको थियो । मन्त्रालयको ग्रामीण विकास तथा आर्थिक विकास आयोजनाले वडा नं. ७ मा गोल्मादेवी कृषक समुहले व्यवसायीक तरकारी उत्पादन उपआयोजना सञ्चालन गरेको थियो । गोलभेडा र काँक्रो खेतिका लागि ५९ लाख ३३ हजार रुपैयाँको लागतमा आयोजनाले २९ लाख १७ हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

वडा नं १३ मा आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसायीक बाख्रा पालनको लागि ५७ लाख ७८ हजारको लागतमा आयोजनाले २२ लाख ९४ हजार रुपैयाँ अनुदान दिएको थियो । १ बर्षसम्म सञ्चालित आयोजनाबाट ५० भन्दा धेरै किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

आयोजनाले किसानलाई व्यवसाय शुरुआत गर्न योजना निर्माण तहदेखि नै सहजिकरण गरि संरचना निर्माण , व्यवसायीक तालिम, उत्पादन तालिम, उत्पादन सहयोग तथा बजारीकरणसम्म विभिन्न तहमा अनदान प्रदान गरेको आयोजनाका कृषि अधिकृत सौरभ श्रेष्ठले बताए ।

यो अनुदान कार्यक्रमले समुहको सदस्यहरुको दैनिकमा ठुलो प्रभाव परेको गोल्मादेवी कृषक समुहका अध्यक्ष महेश धिताल बताउँछन् । ‘ उत्तिकै खेर जाने समयमा अहिले हाम्रो सदस्युहरु तरकारी खेतिको स्याहारसुसारमा बिताउनुहुन्छ ।’ धितालले भने -‘यसबाट किसानको आयआर्जन समेत वृद्धि भएको छ ।’ आफैंले उत्पादन गरेको ताजा तरकारी खान पाउने र बेचेर आम्दानी समेत लिन थालेपछि किसानहरु उत्साहित बनेका छन् ।

आयोजनाको समयावधि सकिएपछि उपआयोजनाको जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । किसानहरूलाई प्राविधिक सहयोग, मलविउ तथा बजारीकरणमा अब नगरपालिकाले सहयोग गर्नेछ ।

खुल्ला पानाबाट

प्रतिक्रिया दिनुहोस्