२०८२ चैत्र ४

अहंकारी संस्कृति र विसर्जित विरासत

वामपन्थी हुनुको अर्थ कुनै समय सामाजिक न्याय, विद्रोह र परिवर्तनको संवाहक हुनु थियो । तर हालका निर्वाचन परिणाम र कम्युनिष्ट पार्टीभित्र देखिएको वैचारिक रिक्तताले निर्मम प्रश्न उठाएको छ— के नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो ऐतिहासिक सान्दर्भिकता गुमाउँदै अधोगतिको अन्तिम बिन्दुमा पुगेको हो ? दुईतिहाइको उन्मादबाट शुरु भएको यात्रा आज आफ्नै अस्तित्व जोगाउन संघर्ष गर्नुपर्ने अवस्थामा छ । यो आकस्मिक घटना होइन; दशकौँदेखि हुर्किँदै आएको सांस्कृतिक र चारित्रिक स्खलनको परिणाम हो ।

वामपन्थीको संसदीय यात्रा २०४३ देखि शुरु भयो र २०४८ देखि उनीहरू निरन्तर सत्ता वा प्रतिपक्षमा रहे । तर, अहिले संसदको तस्बिर नै फेरियो । सत्ता र प्रतिपक्ष दुवैमा बुर्जुवा विचारकै प्रभुत्व देखियो । सबैभन्दा पुरानो वामगढ मानिएको भक्तपुर ४० वर्षपछि ढल्यो ।

वामपन्थीहरूले २०४८ को संसदीय हैसियतसमेत जोगाउन सकेनन् । त्यसबेला एमालेले ६९, जनमोर्चाले ९ र मजदुर किसान पार्टीले २ सिट जितेका थिए । अहिले भने वामपन्थीहरू ४४ प्रतिशतबाट घटेर १५ प्रतिशतमा सीमित भएका छन् । विचार र राजनीतिक संस्कृतिको स्खलन त प्रमुख कारण हो नै, सहायक कारणमा नेतृत्वको अहंकार, दम्भ र एकात्मक कार्यशैली पनि जिम्मेवार छन् ।

उखान छ— ‘तीन अंग्रेज भेटिए क्लब खोल्छन्, दुई स्टकिष्ट भेटिए बैंक खोल्छन् ।’ नेपाली कम्युनिष्ट आन्दोलनमा भने दुई नेताको अहंकार टकराए नयाँ पार्टी जन्मिन्छ । आज नेपालमा करिब डेढ दर्जन कम्युनिष्ट पार्टी छन्, तर ती जनसरोकारभन्दा बढी नेताको अहम् र गुट व्यवस्थापन गर्ने प्राइभेट लिमिटेड कम्पनीजस्तो बनेका छन् ।

कहिल्यै नढल्ने मानिएको नेमकिपाको भक्तपुरे गढ ढल्नु र एकीकृत जनक्रान्तिको संसदीय अभ्यासमा आएको विप्लव समूहले धरौटीसमेत जोगाउन नसक्नुले स्पष्ट सन्देश दिएको छ— क्रान्तिकारी ट्रेडमार्कको भरमा अस्तित्व धान्न सकिँदैन । शुद्धतावाद र जडताग्रस्त बहिष्कारवादी साना पार्टीहरूको अवस्था चुनावी हस्तक्षेपभन्दा बढी अस्तित्वरक्षाको औपचारिक प्रयासमा सीमित देखियो ।

एकल निर्णयले पार्टी चल्न थालेपछि कार्यकर्ताहरू केवल पछुवामा सीमित हुन्छन् जोसँग आत्मबल रहँदैन । आस र त्रासमा लतारिएका कार्यकर्तासँग सिर्जनात्मक कला र जोखिम उठाउने आँट हुँदैन । 

एमाले र माओवादीबीचको एकताले झण्डै दुई तिहाइको सरकार बनाउँदा नेतृत्वमा देखिएको अहंकारले सहकर्मीहरूलाई नै शत्रु देख्न थाल्यो । जनवादलाई आदेश र हुकुमले प्रतिस्थापन गर्दा एमालेजस्तो व्यवस्थित पार्टी पनि विभाजनको शिकार भयो । सबैभन्दा व्यवस्थित र क्याडरबेस पार्टी यो अवस्थामा पनि पुग्न सक्ला भनेर कसैले कल्पना पनि गरेका थिएनन् । नेतृत्वको अहंकारी स्वभाव र सर्वज्ञको भ्रमले पार्टी मात्रै हैन देशलाई नै प्रभाव पार्‍यो ।’ मै सर्वोपरी’ भन्ने सोच र असहमतिको स्वरलाई अपमान र तिरस्कार गर्ने प्रवृत्तिले गर्दा एकीकृत नेकपा मात्र फुटेन, एमाले आफैँ पनि विभाजित भयो ।

०६४ मा माओवादीले ल्याएको प्रचण्ड बहुमत परिवर्तनको तीव्र आकांक्षाको परिणाम थियो । तर शक्तिको त्यो शिखर नै अहंकारको बीजारोपण गर्ने थलो पनि बन्यो । ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता पलाएपछि महत्वाकांक्षाको व्यवस्थापन हुन सकेन, विभाजनको श्रृंखला शुरु भयो । माओवादीभित्रै दर्जनजति फुट भए भने यसपटक त आधिकारिक उम्मेदवारविरुद्ध नेतृत्वतहबाटै विद्रोहीसमेत देखा परे ।

राजनीतिमा कुनै पनि उथलपुथल एक्कासी हुँदैन; संकेतहरू धेरै पहिलेदेखि देखिन थाल्छन् । तर सत्ताको शिखरमा बसेको वामपन्थी नेतृत्वले ती संकेतलाई पढ्न सकेन । बिजातिलाई सिंगार्नु र सजातिलाई लघार्नु संगठन शैली बन्दा कम्युनिष्ट आन्दोलनभित्रै क्षयिकरण शुरु भयो र त्यो निरन्तर बढ्दै गयो ।

विचार व्यवहारमा नदेखिँदा त्यो पाखण्ड बन्छ । पार्टी चल्दैन । एकल निर्णयले पार्टी चल्न थालेपछि कार्यकर्ताहरू केवल पछुवामा सीमित हुन्छन् जोसँग आत्मबल रहँदैन । आस र त्रासमा लतारिएका कार्यकर्तासँग सिर्जनात्मक कला र जोखिम उठाउने आँट हुँदैन ।

कम्युनिष्ट नेतृत्व यति आत्ममुग्ध भयो कि उसले आफ्नै अनुहारबाहेक अरू केही देख्न छाड्यो । जडसूत्रवादी सोचले युवापुस्तालाई पुराना दलबाट टाढा धकेल्यो । राजनीतिलाई व्यवसाय बनाइएपछि त्यो जनजीवनसँग टाढा जान्छ । राज्य जब व्यक्तिको सोचअनुसार चल्न थाल्छ, त्यहाँ भ्रष्टाचार र चरित्रहीनताले प्रश्रय पाउँछ । निर्वाचन परिणाम हारजितको अंक होइन; यो नेतृत्वको अहंकार र वैचारिक स्खलनमाथि जनताले दिएको वैचारिक झापड हो । समस्याको पहिचान र समाधान खोज्नुको साटो नेतृत्वले सधैँ बाह्य षड्यन्त्र देख्न थाल्यो ।

मोहन वैद्य, डा. बाबुराम भट्टराईदेखि विप्लवसम्मका विभाजनहरू विचारभन्दा बढी मत्वाकांक्षाको व्यवस्थापन कार्यशैली र अहंकारको टकरावका परिणाम थिए । माओवादीले विद्रोही चरित्र गुमायो तर संसदीय चरित्र सिक्न सकेन । फलस्वरूप आज उसले आफ्नै विरासत जोगाउन संघर्ष गर्नुपरेको छ । माओवादीको २०६४ को सफलता होस् वा एमाले–माओवादीको एकतापछि २०७४ मा बनेको झण्डै दुईतिहाइ सरकार— दुवै अवस्थामा एउटा साझा रोग देखियोः अहंकारको टकराहट । यो अधोगतिले स्पष्ट सन्देश दिन्छ— जनमत जतिसुकै ठूलो भए पनि यदि नेतृत्वमा अहंकार छ र उसले बदलिँदो समयको सन्देश बुझ्दैन भने इतिहासले उसलाई निर्मम रूपमा किनारा लगाइदिन्छ ।

विश्वभरि नै परम्परागत विचारधारा कमजोर हुँदै प्रायोजित पपुलिष्ट शक्तिहरू उदाइरहेका छन् । डिजिटल क्यापिटलिज्मले जनमानसलाई प्रभावित गरिरहेको छ । तर हाम्रा नेताहरूले यसलाई बुझ्नुको साटो शक्ति राष्ट्रहरूको कार्ड खेल्ने क्रममा नेपाललाई राजनीतिक प्रयोगशालामा परिणत गरे । बाह्य शक्तिको आशीर्वादलाई जनमत ठान्ने रणनीतिक भूलले उनीहरूलाई जनताबाट टाढा पुर्‍यायो । विचारको अन्त, सिद्धान्तको अन्त, इतिहासको अन्त र स्मृतिको अन्त भन्ने विश्व न्यारेटिभ तयार हुँदै जाँदा त्यसको प्रतिकार गर्न राजनीतिक संस्कृतिको संगठन र अभ्यास आवश्यक थियो । त्यो मौन सर्जिकल स्ट्राइकलाई काउन्टर गर्न नैतिक इच्छाशक्ति युक्त नेतृत्व, आधुनिक प्रविधि र जैविक बुद्धिजीवीहरूको फौज चाहिन्थ्यो ।

तर अन्तिम उद्देश्य नै सिंहदरबारको म्याराथन भएपछि नीति, योजना र भूमिका पार्टीभित्र रहन सकेन । परिस्थिति जसरी बन्थ्यो, परिणाम पनि त्यस्तै निस्कन्थ्यो । यही नै नेपाली कम्युनिष्ट आन्दोलनको अधोगति र चुनावी परिणामको कथा बन्यो । राज्यको प्रमुख कार्यकारीशक्ति बनेको वामपन्थी शक्ति सिद्धान्त, संस्कृति र फेरिँदो विज्ञान प्रविधीलाई पार्टीजीवनमा ढाल्न नसक्दा क्रमशः खुम्चिदै गएर दर्शक बन्नुपर्ने अवस्थामा पुग्नाका कारण बने ।

प्रतिक्रिया दिनुहोस्