२०८२ फाल्गुन २९

इनिशा विकको न्यायको माग गर्दै चौतारामा पाँच मिनेट मौन उभिएर दुःख व्यक्त

चौतारा — सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकका लागि न्यायको माग गर्दै चौतारामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

चौताराका सचेत युवाहरूको समूहले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भई दीप प्रज्वलन गर्दै न्यायको माग गरेका हुन्। करिब दुई दर्जन युवाहरूले #Justice For Inisha B.k लेखिएका तस्बिर बोकेर पाँच मिनेट मौन उभिएर घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए।

उक्त कार्यक्रममा साहित्यकार अमित घिमिरेले सचेत र जिम्मेवार पुरुषले कहिल्यै बलात्कारजस्तो जघन्य अपराध नगर्ने बताएका थिए। उनले यस्ता अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै कडा कानुनी कारबाहीको माग गरे।

गत फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक कक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाटै वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस घटनाले देशभर आक्रोश र चिन्ता बढाएको छ भने दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन विभिन्न ठाउँमा आवाज उठ्न थालेको छ।

चौतारामा आयोजित विरोध कार्यक्रमको संयोजन विकास काफ्लेविजय नेपाल लगायतका युवाहरूले गरेका थिए।

 

रेडियो सिन्धुबाट

 

प्रतिक्रिया दिनुहोस्