सिन्धुपाल्चोक। चौतारा-नवलपुर-मेलम्ची सडक अन्तर्गत चौतारा-झ्याडी खण्ड कालोपत्रे गर्ने कार्य सम्झौता भएको करिब ३२ महिना बितिसक्दा पनि निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढेको छ । हालसम्म भौतिक प्रगति करिब ४० प्रतिशत मात्रै पुगेको बताइएको छ ।
निर्माण कार्यका लागि बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का सम्झौता गरिएको हो । कार्यालयका अनुसार सिद्धबाबा कन्स्ट्रक्सनसँग सम्झौता भई सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम अघि बढाइएको थियो ।
ठेक्का सम्झौताअनुसार ८.२ किलोमिटर लम्बाइको उक्त सडकको निर्माण कार्य २०८० असार २३ गते प्रारम्भ भई २०८२ असार २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समय बितिसक्दा पनि काम पूरा नहुँदा स्थानीय बासिन्दामा निराशा बढ्दै गएको छ । निर्माण कार्यमा ढिलाइ हुँदा दैनिक आवतजावतमा समस्या भएको भन्दै स्थानीयहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

विशेषगरी पिपलडाँडा क्षेत्रका बासिन्दाहरूले सडकको अवस्था कमजोर भएकाले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण दैनिक जीवन नै कष्टकर बनेको बताएका छन् । ठेक्का सम्झौता भएको करिब साढे दुई वर्ष भइसक्दा पनि गुणस्तरीय सडक उपभोग गर्न नपाएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन् ।
निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दाहरूले फागुन २९ गते शुक्रबार पूर्वाधार विकास कार्यालयमा विभिन्न नारा सहित विरोध समेत गरेका थिए ।
पिपलडाँडाका स्थानीय राजेन्द्र सापकोटाले सडक गुणस्तरहीन भएकाले हिउँदमा धुलो र बर्खामा हिलोका कारण यातायात प्रभावित भएको बताए । विशेषगरी यसले वृद्धवृद्धा, महिला र बालबालिकालाई बढी समस्या परेको उनको भनाइ छ । साथै उनले सरोकारवाला सबैलाई यस विषयमा ध्यान केन्द्रित गर्न अनुरोध गर्दै यो सडक कालोपत्रे हुँदा बिरामीलाई अस्पतालसम्म पुर्याउन, स्थानीय उत्पादनको बजार व्यवस्थापन गर्न तथा बालबालिकालाई विद्यालयसम्म सहज पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी पिपलडाँडाका स्थानीय महिलाहरू पनि सडक निर्माणमा भएको ढिलाइका कारण जनजीवन प्रभावित भएको बताउँछन् । पिपलडाँडाकी एक गृहिणी महिलाले यो सडक खण्ड पूर्वाधार विकास कार्यालयकै आँगनसँग जोडिएको भए पनि ठेक्का लागेको साढे दुई वर्ष भइसक्दा समेत सडक अझै अधुरो रहेको बताइन् । सामान्य पानी पर्दा पनि सदरमुकाम आउन समस्या भोग्नुपरेको र अन्य समयमा धुलोका कारण बाटोमा हिँड्दा मेलापातबाट फर्किएजस्तै हुने उनले बताइन् ।

पूर्वाधार विकास कार्यालयका प्रमुख प्रकाश पौडेलले कार्यालयले अनेकौं प्रयास गर्दा पनि निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताए। उनले यस विषयमा कार्यालय संवेदनशील रहेको र कार्यालय, स्थानीय तथा निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सम्मिलित त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्ने बताए ।
यता पूर्वाधार विकास कार्यालयले सबै दोष निर्माण व्यवसायीलाई लगाउँदै गर्दा स्थानीय भने कार्यालयसँगै जोडिएको सडकमा समेत यस्तो लापरबाही हुँदा कार्यालयको भूमिका र प्रभावकारितामाथि नै प्रश्न उठाइरहेका छन् । यस विषयमा कार्यालय प्रमुख पौडेलसँग कुरा गर्दा उनले कार्यालयबाट निर्माण व्यवसायीलाई १५ पटक पत्र पठाइसकेको र यस विषयमा निर्माण व्यवसायीकै लापरबाही स्पष्ट रहेको बताए ।

तर कार्यालय प्रमुखले दिएको जानकारीलाई एकातिर राख्दा १५ पटक पत्र पठाइसक्दा पनि काममा कुनै सुधार नआउनुका बाबजुद कार्यालयले कुनै ठोस कदम किन चाल्न सकेन भन्ने विषयले कार्यालयप्रति नै प्रश्नको शृङ्खला थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्