सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा युवराज दुलाल निर्वाचित भएका छन् । प्राप्त मत परिणामअनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङ ले १९ हजार १४६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव देखिएको यस निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा पनि रास्वपाका भरतप्रसाद पराजुली विजयी भएका छन् । तर क्षेत्र नं. २ मा भने युवराज दुलालले आफ्नो राजनीतिक अनुभव, विकाससँग जोडिएको इतिहास र व्यक्तिगत प्रभावका आधारमा विजय हासिल गरेको विश्लेषण गरिएको छ ।
को हुन् युवराज दुलाल ?
समकालीन नेपाली राजनीतिक परिदृश्यमा संघर्ष, समर्पण र जिम्मेवारीका साथ स्थापित नेता युवराज दुलालको राजनीतिक यात्रा लामो र अनुभवसम्पन्न मानिन्छ । जनआन्दोलनको भूमिगत संघर्षदेखि प्रदेश सरकारको मन्त्रीपरिषद्सम्म आइपुगेको उनको राजनीतिक यात्राले अनुभव, सिद्धान्त र व्यवहारको सन्तुलित समन्वय प्रस्तुत गरेको देखिन्छ । बागमती प्रदेशको राजनीतिक तथा विकास प्रक्रियामा उनको योगदान उल्लेखनीय मानिन्छ ।
शैक्षिक रूपमा उनी राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तथा अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त नेता हुन् । अध्ययन, विश्लेषण र व्यवहारिक राजनीतिलाई सँगसँगै अघि बढाउनु उनको विशेषता मानिन्छ ।
दुलालको राजनीतिक यात्रा वि.सं. २०५१ सालदेखि अखिल क्रान्तिकारीमार्फत संगठित रूपमा सुरु भएको हो । २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै उनले विभिन्न जिम्मेवारी सम्हाले । जनयुद्धको कठिन समयमा उनले जनमुक्ति सेनाको बिग्रेड कमाण्डरको जिम्मेवारी निर्वाह गरेका थिए ।
शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गरेका दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यस अवधिमा उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री (२०७४ फागुन–२०७७ पौष) तथा भौतिक पूर्वाधार विकास मन्त्री (२०७९ माघ–२०८१ श्रावण) को जिम्मेवारी सम्हालेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार देशभर नयाँ शक्तिको रूपमा रास्वपाको लहर देखिएको अवस्थामा पनि सिन्धुपाल्चोक क्षेत्र नं. २ मा भने दुलालले आफ्नो विकाससम्बन्धी काम, लामो राजनीतिक अनुभव र स्थानीय स्तरमा बनाएको विश्वासका आधारमा मतदाताको समर्थन प्राप्त गरेका हुन् । यसले कतिपय स्थानमा पार्टीभन्दा पनि व्यक्तित्व र कामको मूल्यांकनका आधारमा मतदाताले निर्णय गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्