चोैतारा | सिन्धुपाल्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कुल ५५.६९ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा रहेका २ लाख ७४ हजार ९९८ मतदाता मध्ये १ लाख ५३ हजार १४८ मत खसेको निर्वाचन सम्बन्धी स्रोतले जनाएको छ । जिल्लाभरका अधिकांश मतदान केन्द्रहरूमा शान्तिपूर्ण, व्यवस्थित र सामान्य वातावरणमा मतदान सम्पन्न भएको बताइएको छ ।
प्राप्त विवरण अनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६९६ मध्ये ६९ हजार ६ मत खसेको छ भने पुरुष मतदाता १ लाख ४३ हजार ३०२ मध्ये ८४ हजार १४२ मत खसेको छ । समग्रमा हेर्दा पुरुष मतदाताको सहभागिता महिला मतदाताको तुलनामा केही बढी देखिएको छ ।
दुइ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ३६ हजार ९८५ मतदाता मध्ये ७३ हजार ७१५ मत (५३.८१ प्रतिशत) खसेको छ । यस क्षेत्रमा महिला मतदाता ६५ हजार ७२३ मध्ये ३२ हजार ६२० (४९.६३ प्रतिशत) ले मतदान गरेका छन् भने पुरुष मतदाता ७१ हजार २६२ मध्ये ४१ हजार ९५ (५७.६६ प्रतिशत) ले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा कुल १ लाख ३८ हजार १३ मतदाता मध्ये ७९ हजार ४३३ मत (५७.५५ प्रतिशत) खसेको छ । यस क्षेत्रमा महिला मतदाता ६५ हजार ९७३ मध्ये ३६ हजार ३८६ (५५.१५ प्रतिशत) ले मतदान गरेका छन् भने पुरुष मतदाता ७२ हजार ४० मध्ये ४३ हजार ४७ (५९.७५ प्रतिशत) ले मतदान गरेका छन् ।
निर्वाचनका क्रममा जिल्लाका विभिन्न स्थानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो । बिहानदेखि नै कतिपय मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन देखिएको थियो । समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न भएको सम्बन्धित निकायले जनाएको छ ।
यसैबीच, मतगणनाको तयारीसमेत सुरु भइसकेको छ । छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्