२०८२ फाल्गुन १७

विकासको बाकस बोकेर पाँचपोखरीदेखि चौतारासम्म घरदैलोमा दुलाल

चौतारा | सिन्धुपाल्चोक क्षेत्र नं २ का नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज दुलालले आफ्नो गृह पालिका चौतारा साँगाचोकगढी नगरपालिकामा भव्य जनसहभागितासहित घरदैलो अभियान सम्पन्न गरेका छन् । नगरका विभिन्न वडाहरूमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति देखिएको थियो ।

उनी ‘विकासको बाकस’ भन्ने सन्देशसहित मतदातामाझ पुगेका छन् । दुलालका अनुसार “विकासको बाकस” कुनै नारामात्र नभई विगतमा सुरु गरिएका योजना, सम्पन्न गरिएका आयोजना र आगामी स्पष्ट कार्ययोजनाको प्रतीक हो—जहाँ सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनाका प्रतिबद्धता समेटिएका छन् ।


घरदैलो अभियानकै क्रममा वडा नं १ स्याउलेमा एमालेका नगर समिति सदस्य दीपु तामाङसहित विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूले नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले क्षेत्रको दीर्घकालीन विकासका लागि दुलालको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
यसअघि दुलालले पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा व्यापक घरदैलो गरिसकेका छन् । ती स्थानहरूमा उनले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता सुनेका थिए । घरदैलोका क्रममा धेरै स्थानमा स्थानीयले उनलाई सम्मान तथा माया व्यक्त गरेको अनुभव उमेदवार दुलाल बताउछन् । “कतिपय ठाउँमा स्थानीयवासीले खादा, टीका तथा फूलमालाले स्वागत गरेका थिए भने युवाहरूले विकासका मुद्दामा खुलेर साथ दिने प्रतिबद्धता जनाएका थिए,” उनी बताउँछन् । विशेषगरी पाँचपोखरी र हेलम्बुमा पूर्वाधार विकास, मेलम्चीमा विपद्पछिको पुनर्निर्माण र इन्द्रावतीमा कृषि तथा पर्यटन प्रवर्द्धनका विषयमा दुलालले आफ्नो योजना सार्वजनिक गरेका थिए ।


अभियानका क्रममा उम्मेदवार दुलालले भने,“विकासको बाकस भनेको मेरो व्यक्तिगत वाचा होइन, यो जनताको चाहना र आवश्यकताको संकलन हो । मैले सुरु गरेका कामहरूलाई निरन्तरता दिन र नयाँ योजनाहरू अघि बढाउन तपाईँहरूको विश्वास आवश्यक छ ।
साथै उनले राजनीति भाषण र आरोपमा सीमित हुनु नहुने बताउदै परिणाम देखिने काम नै असली राजनीति भएको दाबी गरे ।
हाल चौतारा साँगाचोकगढी नगरपालिका सहित समग्र क्षेत्र नं २ मा उनको घरदैलो अभियानले चुनावी माहोल थप तातेको छ । विभिन्न पालिकाबाट प्राप्त समर्थन र आत्मीय स्वागतले अभियानमा थप उत्साह थपिएको दुलाल निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्