२०८२ फाल्गुन १५

घुम्थाङ, मानेश्वारा र राम्चेवासीमा सापकोटालाई पुनः जिताउने प्रतिबद्धता, सयौं नेता–कार्यकर्ता नेकपामा प्रवेश

सिन्धुपाल्चोक, १४ फागुन — बाह्रबिसे नगरपालिकाका वडा नं. ७ (घुम्थाङ), ८ (मानेश्वारा) र ९ (राम्चेवासी) का स्थानीयवासीले प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा (सुबोध) लाई पुनः निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार आयोजित ‘मतदाता भेटघाट तथा सुझाव संकलन अभियान’ अन्तर्गत ती क्षेत्रमा पुगेका सापकोटालाई स्थानीयले भव्य स्वागत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयले अघिल्लो कार्यकालमा सुरु भएका तर अधुरा रहेका विकास निर्माणका कामहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरे।
वडा नं. ७, ८ र ९ मा आयोजित घरदैलो तथा सामूहिक छलफलमा बोल्दै स्थानीयवासीले “काम गर्नेलाई नै मत दिने” धारणा व्यक्त गरे। उनीहरूले सापकोटाको व्यक्तित्व, संसद्मा निर्वाह गरेको सक्रिय भूमिका र स्थानीय मुद्दा प्रभावकारी रूपमा उठाएको शैलीको प्रशंसा गरेका थिए। जितेपछि विकास योजनालाई पूर्णता दिनुपर्ने विषयमा समेत उनीहरूबाट पटक–पटक ध्यानाकर्षण गराइएको थियो।
अभियानमा समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, युवा नेता सरल सहयात्री पौडेल, बाह्रबिसेका संस्थापक मेयर एवं नेकपा केन्द्रीय सदस्य निमफुञ्जो शेर्पा, नेता टी.एन. सापकोटा, बाह्रबिसे इन्चार्ज प्रदीप पराजुली लगायतका नेताकार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयले अघिल्लो निर्वाचनमा दिएको समर्थन स्मरण गराउँदै यसपटक पनि परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।
घुम्थाङमा शेर्पा संस्कृतिअनुसार झाँकीसहित स्वागत गरिएको थियो। स्थानीयले संसद्मा सापकोटाको तार्किक प्रस्तुति आगामी दिनमा पनि कायम राख्न सुझाव दिएका थिए। अघिल्लो ३३ महिने कार्यकालमा सुरु गरिएका आयोजनालाई निरन्तरता दिन विशेष जोड दिइएको थियो।
स्थानीयको सुझावप्रति आभार व्यक्त गर्दै सापकोटाले जनताका सल्लाह र सुझाव नै आफ्नो कार्यसम्पादनको मार्गदर्शन हुने बताए। उनले जनताको शिर नझुक्ने गरी इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। अघिल्लो कार्यकालमा आफूले कुनै दाग नलाग्ने गरी जिम्मेवारी निर्वाह गरेको उनको भनाइ थियो।
युवा जोश, कामप्रतिको प्रतिबद्धता र स्थानीय मुद्दा संसद्मा सशक्त रूपमा उठाउने शैलीका कारण सापकोटा विपक्षी दलका कार्यकर्तामाझ समेत ‘साझा नेता’ का रूपमा स्थापित भएको स्थानीयको दाबी छ।
यसैबीच, मानेश्वाराका नेपाली कांग्रेसमा सक्रिय युवा नेता पन्चबीर तामाङ नेकपामा प्रवेश गरेका छन्। साथै साँझ दुई छुट्टाछुट्टै टोलीले नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी सयौंको संख्यामा नेकपामा प्रवेश गरेको जनाइएको छ। बाह्रबिसेमा आयोजित विशेष कार्यक्रममा उम्मेदवार सापकोटालगायत नेताहरूले नवप्रवेशीलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्