चौतारा। आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा पुगेको सिन्धुपाल्चोक जिल्ला यतिबेला चुनावी माहोलले तातेको छ। चिनको तिब्बत र हिमालदेखि पहाड हुँदै राजधानी जोड्ने भौगोलिक विविधता बोकेको यो जिल्ला अहिले राजनीतिक दृष्टिले पनि चासोको केन्द्र बनेको छ। विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेकपाका उम्मेदवारहरूको पक्षमा देखिएको जनलहरले चुनावी समीकरणलाई एकतर्फी बनाउने संकेत दिएको छ।
दुबै क्षेत्रमा कम्युनिष्ट शक्तिको प्रभाव विस्तार हुँदै जाँदा विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्। गाउँ–गाउँमा भइरहेको घरदैलो अभियान, टोल–टोलमा आयोजित कोणसभा र युवा परिचालनले चुनावी वातावरणलाई नेकपामय बनाएको छ।

क्षेत्र नम्बर १ : विकासको निरन्तरताका पक्षमा जनमत
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार माधव सापकोटा (सुबोध) को पक्षमा उल्लेख्य समर्थन देखिएको छ। यसअघि पनि निर्वाचित भई काम गरिसकेका सापकोटाले आफ्नो कार्यकालमा अघि बढाएका सडक विस्तार, पुल निर्माण, विद्यालय स्तरोन्नति, खानेपानी आयोजना र स्वास्थ्य चौकी सुदृढीकरणजस्ता योजनालाई चुनावी एजेण्डाको केन्द्रमा राखेका छन्।
स्थानीयवासीहरू भन्छन्, “काम देखिएको छ, त्यसैले फेरि अवसर दिनुपर्छ।” युवा पुस्ताले रोजगारी, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने माग राख्दै सापकोटालाई साथ दिएका छन्। महिला समूहहरूले पनि सामाजिक सुरक्षा र आयआर्जन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।
चौतारा साँगाचोकगढीदेखि बाह्रबिसे भोटेकोशीसम्म, लिसंखुपाखर देखि जुगल क्षेत्रसम्म आयोजित चुनावी कार्यक्रमहरूमा जनसहभागिता उल्लेख्य देखिएको छ। भीडको उपस्थितिले मात्र होइन, मतदाताको सक्रिय सहभागिताले पनि क्षेत्र नम्बर १ मा नेकपाको पकड मजबुत बन्दै गएको संकेत मिलेको छ।

क्षेत्र नम्बर २ : युवा नेतृत्वप्रति बढ्दो आकर्षण
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार युवराज दुलाल (शरद) को पक्षमा उत्साहजनक लहर देखिएको छ। युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका दुलाल स्पष्ट राजनीतिक दृष्टिकोण, संगठनात्मक क्षमता र जनतासँगको निरन्तर सम्पर्कका कारण बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन्।
उनको चुनावी अभियानमा युवाहरूको उल्लेख्य उपस्थिति देखिन्छ। जनसंवाद कार्यक्रम, किसान भेटघाट र महिला अन्तरक्रियाले क्षेत्र नम्बर २ को चुनावी माहोललाई थप तातेको छ।
स्थानीय किसानहरू कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र उत्पादनको बजार सुनिश्चितताका विषयमा आशावादी देखिन्छन्। दुलालले “उत्पादनमा वृद्धि, बजारमा पहुँच र युवालाई स्वरोजगार” भन्ने मूल नारासहित अभियान अघि बढाएका छन्।
संगठन विस्तार र प्रवेशको लहर
सिन्धुपाल्चोकका विभिन्न पालिकाहरूमा अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम बढ्दो छ। आज मात्रै बाह्रबिसेमा आयोजित युवा भेलामा अन्य पार्टीबाट तीन सय भन्दा बढी युवाहरु नेकपामा प्रवेश गरेका थिए । वडास्तरदेखि नगर र गाउँपालिका तहसम्म संगठन सुदृढीकरण अभियानलाई समेत तीव्र पारिएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “निर्वाचन परिणाम जनाताको अपार विश्वास र समर्थनमा निर्भर हुन्छ, र अहिले संगठनात्मक हिसाबले नेकपा जिल्लामा निर्विवाद सबैभन्दा मजबुत अवस्थामा देखिन्छ।”
स्थानीय तहका जनप्रतिनिधिहरू, बुद्धिजीवी, शिक्षक, युवा उद्यमी र सामाजिक अभियन्ताहरूको समर्थनले चुनावी समीकरणलाई नेकपाको पक्षमा मोडिरहेको आकलन गरिएको छ।

जनताका मुख्य एजेण्डा : विकास, स्थिरता र समावेशिता
दुबै क्षेत्रमा मतदाताको प्राथमिकता विकास र स्थिर सरकारप्रति केन्द्रित देखिन्छ। सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवाको पहुँच, गुणस्तरीय शिक्षा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनजस्ता विषयलाई चुनावी बहसको केन्द्र बनाइएको छ।
सिन्धुपाल्चोक भूकम्प, बाढीपहिरो र प्राकृतिक विपद्का दृष्टिले संवेदनशील जिल्ला भएकाले पुनर्निर्माण र दीर्घकालीन पूर्वाधार निर्माणप्रति जनताको चासो उच्च छ। उम्मेदवारहरूले विपद् प्रतिकार्य योजना, सुरक्षित बस्ती विकास र जलविद्युत् सम्भावनाको उपयोगलाई प्राथमिकतामा राखेका छन्।
विपक्षी दलको चुनौती
यद्यपि चुनावी मैदान प्रतिस्पर्धाविहीन भने छैन। विपक्षी दलहरूले पनि आ–आफ्ना एजेण्डा अघि सारेका छन्। तर पछिल्ला दिनहरूमा देखिएको जनलहर र संगठनात्मक सक्रियताले नेकपाका उम्मेदवारहरूलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको देखिन्छ।
राजनीतिक वृत्तमा चर्चा छ— यदि यही गति कायम रह्यो भने सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित हुन सक्छ।
सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा अहिलेको चुनावी परिदृश्य हेर्दा नेकपाका उम्मेदवारहरू स्पष्ट रूपमा हावी देखिएका छन्। क्षेत्र नम्बर १ मा माधव सापकोटा (सुबोध) र क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद) को सक्रिय अभियान, जनतासँगको प्रत्यक्ष सम्पर्क र संगठनात्मक सुदृढताले चुनावी समीकरणलाई उनीहरूको पक्षमा मोडेको छ।
चुनावको अन्तिम परिणाम मतपेटिकाले तय गर्ने भए पनि, अहिले देखिएको माहोलले कम्युनिष्ट शक्तिको प्रभाव सिन्धुपाल्चोकमा अझै बलियो रहेको संकेत दिएको छ।
अब केही दिनमै हुने मतदानले यो जनलहरलाई औपचारिक परिणाममा रूपान्तरण गर्नेछ या नयाँ मोड ल्याउनेछ — त्यो भने समयले नै बताउनेछ। तर यति निश्चित छ, सिन्धुपाल्चोक यतिबेला चुनावी इतिहासको निर्णायक मोडमा उभिएको छ।
प्रतिक्रिया दिनुहोस्