२०८२ माघ २९

राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

चौतारा । १० औँ राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिप–२०८२ मा पदक हासिल गर्न सफल चौतारा साँगाचोकगढी नगरपालिकाका खेलाडीहरूलाई नगरपालिकाले सम्मान गरेको छ। उक्त प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हल, त्रिपुरेश्वरमा सम्पन्न भएको थियो ।
देशभरबाट सहभागी खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा चौतारा साँगाचोकगढी नगरपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र ५ कांस्य पदक जित्न सफल भएका छन् ।


स्वर्ण पदक जित्न सफल खेलाडीहरूमा रस्मिला तामाङ र पासाङ तामाङ रहेका छन्। रजत पदक विजेताहरूमा रोशनी तामाङ र अनुग्या गिरी रहेका छन्। त्यसैगरी, कांस्य पदक जित्न सफल खेलाडीहरूमा कबिर थापा, कर्मा लामा, रजिमाइ तामाङ, सन्ध्या श्रेष्ठ र दिपा नेपाली रहेका छन्।
अन्तर्राष्ट्रिय रेस्लर कृष्ण थापा मगरको अध्यक्षतामा सञ्चालित सम्मान कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सानो उमेरमै राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेकोमा खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले यो सफलता खेलाडीहरूको मेहनत, अनुशासन र प्रशिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम भएको उल्लेख गर्दै प्रशिक्षकहरूप्रति विशेष धन्यवाद समेत व्यक्त गरे । नगर प्रमुख सापकोटाले खेल क्षेत्रमार्फत सिंगो जिल्ला र राष्ट्रकै गौरव उच्च पार्न नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सफलता हासिल गर्ने खेलाडीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै युवा प्रतिभाहरूलाई थप अवसर र प्रोत्साहन प्रदान गर्ने समेत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्