सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा अहिले अनौठो दृश्य छ, कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत (हाकिम) छन्। देशका कतिपय स्थानीय तह हाकिम नपाएर अल्मलिँदा इन्द्रावतीमा भने “एक म्यानमा दुई तरबार” को अवस्था देखिएको छ। यसले निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता र प्रशासनिक स्पष्टतामाथि प्रश्न उब्जाएको छ।
गाउँपालिकामा मनोहरी बराल कार्यरत छन्। एक महिना अघि नै उनको सरुवा भए पनि उनी सरुवा भएको कार्यालयमा हाजिर हुन गएका छैनन्। यसबीचमा बरालको बढुवा भयो, तर दरबन्दी तोकिएको छैन। दरबन्दी नतोकिएकै कारण उनी हालकै कार्यालयमा पूर्ण भूमिकामा काम गरिरहेका छन्। बराल यसलाई सामान्य प्रशासनिक प्रक्रिया बताउँछन् -‘यस्तो अन्त पनि हुन्छ ।’
यसैबीच दानबहादुर ऐडीको इन्द्रावतीमा सरुवा भयो। गत माघ २६ गते सरुवाको २१ दिन पूरा भएपछि उनले सोही दिन हाजिर गरे, तर एक हप्ताको बिदा लिएर पुरानै कार्यालय फर्किए। ऐडीले हाजिर गरे पनि कुनै जिम्मेवारी सम्हालेका छैनन्। परिणामत: नयाँ अधिकृत आइसकेपछि पनि पुरानैले सबै काम गरिरहेका छन्।
यो अवधिमा १३ भन्दा बढी उपभोक्ता समिति, केही वडाका नियमित रकम र यसअघि खरिद भइसकेका ल्यापटपलगायत सामग्रीको भुक्तानी गरिएको छ। नयाँ हाकिमले हाजिर गरिसक्दा पनि बैंक खाता र अन्य प्रशासनिक सिस्टममा नाम परिवर्तन नभएको, पुरानै हाकिमबाट भुक्तानी भइरहेकाले स्थानीय तहमा आर्थिक अनियमितताको आशंका बढेको छ।
हालसम्म गाउँपालिकाले करिब २६ करोड रुपैयाँ खर्च गरेको छ, जुन कुल बजेटको करिब २६ प्रतिशत मात्रै हो। त्यसमा करिब १३ करोड शिक्षकको तलबमा गएको छ। पुँजीगततर्फ भने जम्मा ३ करोड ६० लाख रुपैयाँ खर्च भएको देखिन्छ । यसले विकास खर्च सुस्त रहेको देखिन्छ ।
यता गाउँपालिकामा दुई हाकिम हुँदा अध्यक्ष झम्क नेपाल भने एक गैरसरकारी संस्थाको निमन्त्रणामा भारत भ्रमणमा छन्। अघिल्लो कार्यपालिका बैठकले विदेश भ्रमण स्वीकृत गरेको भए पनि सो भ्रमण स्थगित भएको जानकारी हाकिमलाई थियो। तर सोही कार्यक्रम पुनः सञ्चालन हुँदा आफू विदेश जाने मिति बारे जानकारी नभएको बरालको दाबी छ। अध्यक्ष विदेश गएको कुरा गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले पुष्टि गरेका छन्।
प्रशासनिक नेतृत्व दोहोरो, जिम्मेवारी अस्पष्ट र अध्यक्ष विदेशमा हुनुले यस्तो अवस्थाले सुशासनको मापदण्ड कति पूरा गर्छ? स्थानीय तहमा स्पष्ट कमाण्ड चेन र उत्तरदायित्व नभए खर्चभन्दा ठूलो मूल्य विश्वासको क्षय हो। इन्द्रावतीमा अहिले यही विश्वास जोगाउने चुनौती सबैभन्दा ठूलो देखिन्छ।
खुल्लापाना अनलाईनबाट
प्रतिक्रिया दिनुहोस्