सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–२ मा वडा अध्यक्षद्वारा स्थानीय व्यापारी कुटिएको आरोप सार्वजनिक भएपछि घटनाले राजनीतिक मोड लिएको छ। घटनासँगै चुनावी कार्यक्रम अवरोध गरिएको विषयले थप विवाद सिर्जना गरेको छ।
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले वडा नं. २ र ३ मा आयोजित चुनावी कार्यक्रमका क्रममा आफ्ना उम्मेदवारको टोलीलाई नियोजित रूपमा अवरोध गरिएको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। नगर कमिटी अध्यक्ष दीपक नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा चुनाव प्रचारप्रसारमा हिँडेको उम्मेदवारसहितको टोलीलाई बा ३ च ४०४९ नम्बरको बोलेरो गाडी प्रयोग गरी बाटो छेकेर रोकिएको उल्लेख छ।
विज्ञप्तिअनुसार सार्वजनिक परिचयका साथ निर्वाचन प्रचारमा संलग्न टोलीलाई बाटो रोक्नु संविधान, प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूले उम्मेदवारलाई मतदातासँग भेटघाट गर्न नदिन नियोजित रूपमा अवरोध गरेको आरोप पनि लगाइएको छ। चालकले पटक–पटक फोनमार्फत लोकेशन सोध्दै टोलीको गतिविधि पछ्याएको र अगाडि गाडी तेस्र्याएर बाटो छेकेको विवरण विज्ञप्तिमा समेटिएको छ।
एमालेले उक्त घटनाले निर्वाचनको स्वच्छता र शान्तिपूर्ण वातावरणमा खलल पुगेको उल्लेख गर्दै दोषीमाथि आवश्यक कारबाही गर्न प्रशासन र निर्वाचन आयोगसँग माग गरेको छ। साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सुरक्षाको उचित व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। विज्ञप्तिमा स्वस्थ, शान्तिपूर्ण र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।
यता कुटपिट घटनामा स्थानीय व्यापारी उमेश ढुंगाना घाइते भएका छन्। उनका परिवारका अनुसार ढुंगानाको टाउकोमा आन्तरिक चोट लागेको छ र हाल उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। ढुंगानाले २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा वडा अध्यक्ष उम्मेदवारले गरेको खर्चको बक्यौता रकम माग्ने क्रममा विवाद उत्पन्न भएको बताएका छन्।
घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेपाका) का तर्फबाट सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले पनि गम्भीर आपत्ति जनाएका छन्। घाइतेलाई अस्पतालमा भेटेपछि उनले यस प्रकारको अमानवीय र आपराधिक घटनाप्रति प्रशासनको उदासीनताप्रति गहिरो खेद व्यक्त गरेका थिए। दोषीलाई जोगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै उनले निष्पक्ष छानबिन गरी संलग्न सबैमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
उता, पीडित पक्षले सिन्धुपाल्चोक प्रशासन घटनामा मुकदर्शक बनेको र कुटपिटमा संलग्न भनिएका वडाध्यक्षकै पक्षमा ओकालत गरिरहेको आरोप लगाएको छ। प्रशासनले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।
जिल्लामा घटेको यस घटनाले स्थानीय राजनीतिक माहोल तातेको छ। निर्वाचन नजिकिँदै गर्दा यस्ता घटनाले लोकतान्त्रिक अभ्यास र शान्तिपूर्ण वातावरणमा चुनौती थपेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिन र पारदर्शी कारबाहीको अपेक्षा गरेका छन् ।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्