२०८२ माघ २१

जुगलको गौरवपूर्ण सफलता, खेलाडीहरू पालिकाबाट सम्मानित

सिन्धुपाल्चोक — कुविण्डे युवा समूह, कुविण्डे र यङ्ग स्टार क्लब, मेलम्चीको आयोजनामा सम्पन्न दुइ अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल जुगल भलिबल टिमका खेलाडीहरूलाई सम्मान गरिएको छ   ।
जुगल गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा उल्लेखनीय खेल कौशल प्रस्तुत गर्दै सफलता हासिल गरेको भन्दै खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका क्रममा जुगल भलिबल टिमका कप्तानले प्रतियोगिताबाट प्राप्त शिल्ड जुगल गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । शिल्ड हस्तान्तरणसँगै गाउँपालिकाले खेलकुद क्षेत्रको विकासमा खेलाडीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सफलताहरू दोहोरिन सकोस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।
सम्मान कार्यक्रममा सहभागी सम्पूर्ण भलिबल खेलाडीहरूलाई विशेष धन्यवाद दिँदै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन र थप सफलताको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्