२०८२ माघ २१

जुगल–५ मा श्रमदानबाट गणेशखोला लुकी झर्ना श्रमपार्क निर्माण, आज उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका –५ मा श्रमदानबाट निर्माण गरिएको गणेशखोला लुकी झर्ना श्रमपार्क यतिबेला चर्चाको केन्द्र बनेको छ। स्थानीय जनताको व्यापक सहभागितामा सम्पन्न उक्त अभियान सांस्कृतिक पञ्चेबाजासहित भव्य रूपमा उद्घाटन गरिएको छ ।

कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो प्रमुख अतिथि तथा उपाध्यक्ष हिमालकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए । वडा अध्यक्ष चन्द्रकाजी लामा, समाजसेवी रविन्द्र घिमिरे, लक्ष्युमान दोङ, जयचन्द्र लामा, राजु श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो।

समाजसेवी राजु श्रेष्ठले हालै अमेरिकाबाट फर्किएपछि श्रमपार्क निर्माणका लागि ३४ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन्। साथै देवनाथ घिमिरेले २ हजार र मोहनबहादुर श्रेष्ठले २ हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोगदाताहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यस अभियानमा समाजसेवी शेरबहादुर श्रेष्ठ, राजु श्रेष्ठ, शिवलाल श्रेष्ठ, दिपक श्रेष्ठ, सावित्री घिमिरे, सोहन सुनार, पदमबहादुर श्रेष्ठ, गंगालाल श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, गणेश श्रेष्ठ तथा अन्य सम्पूर्ण श्रमदाताको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ।

रत्नराज्य माध्यमिक विद्यालय चनौटेमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी, शिक्षक तथा स्थानीयवासीहरू सामाजिक अभियन्ता सोमछिरिङ तामाङ र गणेशबहादुर श्रेष्ठको नेतृत्वमा निःशुल्क श्रमदानमा जुटेका थिए।

गणेशखोला स्थित लुकी झर्ना नजिक निर्माण गरिएको श्रमपार्कमा स्थानीय युवा–युवती, वृद्ध, विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिताले अभियानलाई आकर्षक र प्रेरणादायी बनाएको थियो। ठेक्कापट्टा र आर्थिक अनियमितताबारे चर्चा भइरहेका बेला बिना पारिश्रमिक सञ्चालन भएको यो अभियान जुगल गाउँपालिकाको अनुपम उदाहरण बनेको छ।
सम्भवतः सिन्धुपाल्चोक जिल्लामै पहिलोपटक यति लामो समयसम्म निःशुल्क श्रमदानमा आधारित अभियान सञ्चालन गरिएको हो। अभियान्ता सोमछिरिङ तामाङका अनुसार जुगल–५ का डबली, च्यानडाँडा र टेकनपुरका स्थानीयको बाक्लो सहभागिता रहेको थियो।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले युवाहरूको सक्रियता र समाजसेवाप्रतिको समर्पणको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। श्रमपार्क निर्माणसँगै लुकी झर्नालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पालिकाको योजना रहेको उनले बताए। श्रमपार्क नजिक पोखरी निर्माण तथा अन्य आकर्षक संरचना बनाइने योजना पनि रहेको छ।
स्थानीयको एकताबद्ध श्रम र लगानीबाट निर्माण भएको यो श्रमपार्कले जुगल गाउँपालिकामा सामूहिक श्रमदान संस्कृतिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्