चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।
मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।
खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दङ्गालले गर्नु भयो । मिडिया हाउसको व्यवस्थाले मतगणनास्थलमा एकैपटक हुने सञ्चारकर्मीहरुको भिडलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
मिडिया हाउस स्थापनाको लागि महासंघ जिल्ला शाखाले मुख्य निर्वाचन अधिकृतको कार्यालयप्रति धन्यवाद ज्ञापन गरेको छ । रिपोर्टिङमा सञ्चारकर्मीहरुलाई सहजता पु¥याउने उद्देश्यले मतदानको दिनको लागि बितरण गरिने सवारी पास, मतगणनाको समयको लागि मतगणनास्थल प्रवेश पास बितरण गर्ने लगायत काममा शाखाले सम्वन्धित निकायसँग सहजीकरण गरिरहेको छ ।
जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ ।




नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकबाट
प्रतिक्रिया दिनुहोस्