२०८२ माघ १२

सिन्धुपाल्चोकबाट सुदृढ बन्दै सहकार्य, नेपाल–चीन सीमा समन्वय बैठक सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी फेरिएपछि नेपाल–चीन सीमा समन्वयसम्बन्धी बैठक सम्पन्न भएको छ ।
बैठकमा आगामी निर्वाचनलाई लक्षित सुरक्षा व्यवस्था, सीमा सुरक्षा मजबुत बनाउने विषय, व्यापार तथा पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनमा आपसी सहकार्यका विषयमा चीनको सिजाङ स्वशासित क्षेत्र अन्तर्गत जाङ्मु पक्षसँग विस्तृत छलफल भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख काजी कुमार आचार्यका अनुसार बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने, आपसी सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने, सीमास्तम्भको संरक्षण तथा तस्करी र अवैध आवागमन नियन्त्रणमा दुवै पक्षबीच समन्वय बढाउने सहमति गरेको छ ।
बैठकमा नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो भने चीनतर्फबाट जाङ्मु क्षेत्रका प्रहरीका वरिष्ठ अधिकारी तथा अध्यागमन प्रतिनिधिहरू सहभागी थिए। बैठकले दुई देशबीचको सीमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्