२०८२ माघ ९

४२ औं पिस्कर स्मृति दिवसमा ‘जेल भित्रका सङ्घर्ष’ लोकार्पण

सिन्धुपाल्चोक । पञ्चायती निरङ्कुशताविरुद्धको ऐतिहासिक जनआन्दोलनका क्रममा पिस्करमा घटाइएको नरसंहारको स्मरणमा माघ १ गते ४२ औं पिस्कर स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ । स्मृति दिवसको अवसरमा लेखक तथा राजनीतिक अभियन्ता सरेश नेपालद्वारा लिखित पुस्तक ‘जेल भित्रका सङ्घर्ष’ को लोकार्पण समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पिस्कर आन्दोलन नेपाली लोकतान्त्रिक आन्दोलनको एक महत्वपूर्ण मोड भएको उल्लेख गर्दै निरङ्कुशताविरुद्ध संघर्ष गर्ने शहीद तथा योद्धाहरूको योगदान इतिहासमा अमर रहने बताए । कार्यक्रममा वक्ता अमृत बोहराले पिस्कर आन्दोलनले जनतामा चेतना र प्रतिरोधको भावना जगाएको उल्लेख गर्दै लोकतन्त्र आजको अवस्थामा आइपुग्नुमा यस्ता आन्दोलनहरूको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे । पुस्तकमाथि समिक्षात्मक टिप्पणी डा. देवी नेपालले प्रस्तुत गर्दै ‘जेल भित्रका सङ्घर्ष’ पञ्चायती शासनकालको राज्य दमन, जेल जीवनको पीडा र राजनीतिक बन्दीहरूको संघर्षलाई जीवन्त रूपमा उतारेको महत्वपूर्ण कृति भएको बताए ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ ले गरेका थिए । उनले पिस्करका शहीदहरूको बलिदानले नै आजको राजनीतिक अधिकार सम्भव भएको उल्लेख गर्दै स्मृति दिवसले इतिहासलाई जीवित राख्ने काम गर्ने बताए । कार्यक्रममा पिस्कर आन्दोलनका योद्धा तथा पुराना वामपन्थी नेता मेघनाथ पौडेललाई अभिनन्दन गरिएको थियो भने पिस्कर शहीद परिवारलाई सम्मान प्रदान गरिएको थियो । पुस्तकका प्रकाशक पाणिनि बुक्सका अध्यक्ष रामबाबु नेपाल ले ‘जेल भित्रका सङ्घर्ष’ नयाँ पुस्ताका लागि इतिहास बुझ्ने आधार बन्ने विश्वास व्यक्त गरे । स्मृति सभामा राजनीतिक दलका नेता–कार्यकर्ता, लेखक, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा लोकतन्त्र, मानव अधिकार र न्यायका लागि पिस्करका शहीदहरूले देखाएको बाटो सधैं प्रेरणाको स्रोत रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्