२०८२ माघ ९

क्यान्सरको जितलाई यात्रामा रूपान्तरण गर्दै बाहुनेपाटीमा स्वास्थ्य र सचेतनाको सन्देश

बाहुनेपाटी/ क्यान्सरलाई पराजित गरेपछि जीवन रोकिएन—उल्टै त्यसले नयाँ यात्रा जन्मायो। यही सन्देश बोकेर क्यान्सर विजेता हर्क लामाको नेतृत्वमा सुरु गरिएको १८०० किलोमिटर लामो मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियान ११औँ दिन सिन्धुपाल्चोकको मेलम्ची–१२ बाहुनेपाटी पुगेको छ।

आफूले क्यान्सर उपचारका क्रममा भोगेको शारीरिक र आर्थिक पीडालाई सामाजिक उत्तरदायित्वमा बदल्ने लक्ष्यसहित यो अभियान थालिएको हो। यात्राको क्रममा बाहुनेपाटीस्थित धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्रमा आज निःशुल्क स्वास्थ्य शिविरसँगै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

यस अभियानमा लिड राइडरका रूपमा हर्क लामासँगै अर्की क्यान्सर विजेता राइडर कविता चित्रकार पनि सहभागी हुनुहुन्छ। अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ (पुस १७) मा पूर्वको चिवाभञ्ज्याङबाट सुरु भएको यात्रामा डा. विकास पराजुली, ज्ञानेन्द्र स्थापितलगायत अन्य पाँच जना साइकल राइडरको सहभागिता छ।

एक महिना लामो यात्राको प्रारम्भिक चरणमा टोली कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल र उदयपुर हुँदै बागमती प्रदेश प्रवेश गरेको थियो। रामेछाप र काभ्रेको दोलालघाट पार गर्दै टोली आज मेलम्ची आइपुगेको हो।

धुलिखेल अस्पतालको सहकार्य र साइकल कल्चर कम्युनिटीको आयोजनामा सञ्चालन भइरहेको यो अभियानको मुख्य उद्देश्य क्यान्सर प्रभावित गरिब तथा निसहायका लागि सहयोग कोष खडा गर्नु हो। साथै, मध्य पहाडी लोकमार्गका बस्ती–बस्तीमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे जनचेतना फैलाउँदै समुदायस्तरमै रोकथामको सन्देश पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यक्रमको चिकित्सकीय नेतृत्व धुलिखेल अस्पतालका प्राध्यापक डा. सुमनराज ताम्राकारले गर्दै आउनुभएको छ। उहाँका अनुसार हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा र दिक्तेलका छ स्थानमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भइसकेका छन्, जसबाट करिब ६ सय जना स्कुले विद्यार्थी र महिला दिदीबहिनीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यो साइकल यात्रा केवल दूरीको चुनौती होइन—क्यान्सरविरुद्धको आशा, ऐक्यबद्धता र समयमै सचेत हुनुपर्ने सन्देश बोकेको निरन्तर यात्राको कथा हो।

प्रतिक्रिया दिनुहोस्