२०८२ माघ ९

पाँचपोखरी थाङपालमा छैठौं राष्ट्रपति रनिङशिल्ड सुरु

थाङपाल्धाप/ पाँचपोखरी थाङपाल गाउँपालिकामा विद्यालयस्तरीय खेलकुद गतिविधिलाई संस्थागत गर्ने उद्देश्यसहित छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदमार्फत क्षमता प्रदर्शन र आत्मविश्वास विकास गर्ने अवसर दिएको छ।

श्री थाङपाल्धाप माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभयो। उद्घाटन समारोहमा अध्यक्ष लामाले खेलकुदले शारीरिक स्वास्थ्य मात्र होइन, अनुशासन, सामाजिक पहिचान र सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता सामाजिक विकास शाखा संयोजक काले गोलेको अध्यक्षतामा सञ्चालन भइरहेको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष नारायण भट्टराई, वडा अध्यक्षहरू सुके तामाङ, बाबुलाल स्याङ्बो, विष्णुबहादुर खड्कालगायत जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको पहिलो दिन विभिन्न खेल विधा सम्पन्न भएका छन्। आगामी दिनहरूमा थप प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुने आयोजकले जनाएको छ। खेलकुदमार्फत स्थानीय प्रतिभा पहिचान गर्दै उनीहरूलाई प्रदेश र राष्ट्रिय तहसम्म पुग्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्