२०८२ माघ १०

इन्द्रावती गाउँपालिकाको नवौं अधिवेशन सम्पन्न, नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित

नवलपुर/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवौं गाउँसभा अधिवेशन नवलपुरस्थित गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।

अधिवेशनको शून्य समयमा शिक्षा, सडक, सिँचाइ, खानेपानी, जग्गा वर्गीकरण तथा अन्य पूर्वाधारसँग सम्बन्धित विषयमा गाउँसभा सदस्यहरूले उठाएका प्रश्न, सल्लाह र सुझावलाई आत्मसात् गर्दै आगामी कार्यदिशा तय गरिने गाउँपालिका अध्यक्षले बताउनुभयो। उठेका जिज्ञासाबारे स्पष्ट पार्दै जग्गा वर्गीकरणसम्बन्धी प्रश्नहरूको जवाफ सभाका सचिव तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले दिनुभएको थियो।

अधिवेशनमा उपाध्यक्ष शोभना तामाङले आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित बजेट प्रस्तुत गर्नुभयो। यस्तै, प्रवक्ता शशिनाथ आचार्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ पेश गर्नुभयो। विधेयक समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले केही स्थानीय ऐन संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभयो।

सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले बेरुजु फर्स्यौट कार्यविधि २०८२ प्रस्तुत गर्नुभयो भने लेखा समिति संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले लेखा समिति गठन तथा कार्यालय सञ्चालन कार्यविधि २०८२ पेश गर्नुभयो। यस्तै, प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव मनहरि बरालले आर्थिक ऐन संशोधनसम्बन्धी विधेयक प्रस्तुत गर्नुभएको थियो।

न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गर्नुभयो। नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भइसकेकाले प्रस्ताव पारित गरिएको उहाँले जानकारी दिनुभयो।

सभाको अन्त्यमा प्रस्तुत विषयहरूमाथि छलफल गर्दै राय–सुझाव संकलन गरिएको थियो। साथै लिखित रूपमा पनि सुझाव दिन सकिने व्यवस्था गरिएको सभाध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयो।

अधिवेशनको अवसरमा नेपाल आइडल सिजन–६ की विजेता, इन्द्रावती गाउँपालिका–१० की गंगा सोनाम, नेपालका ७७ वटै जिल्ला साइकल यात्रा गरेर भ्रमण गर्न सफल मादव कुइँकेल तथा दीपेन्द्र सोनामलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको छ। सम्मान कार्यक्रममा गंगा सोनामले आफ्नो सांगीतिक प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावतीकी चेलीले नेपाल आइडल जित्नु सम्पूर्ण पालिकाका लागि गर्वको विषय भएको उल्लेख गर्दै, यस्ता सम्मानले कलाकार तथा प्रेरणादायी व्यक्तिहरूलाई अझ अगाडि बढ्न हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्