हेटौंडा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार प्रेम सापकोटा ‘राजेन्द्र’ले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता अघि आज बिहान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई औपचारिक रूपमा उम्मेदवारीको टिकट हस्तान्तरण गरेका थिए । टिकट प्राप्त गरेलगत्तै उनी हेटौंडा पुगेर उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।
नेकपाले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिण्डेका पुराना माओवादी नेता सापकोटालाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको हो । जनयुद्धकालमा भूमिगत रहँदै सैन्य तथा राजनीतिक दुवै मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न संगठन तथा पार्टी केन्द्रमा सक्रिय रहँदै आएका छन् ।

सिन्धुपाल्चोकबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने सापकोटा एक मात्र उम्मेदवार रहेका छन् । सादगी जीवनशैली र जनपक्षीय राजनीतिका लागि परिचित सापकोटाको उम्मेदवारी आज बिहान औपचारिक रूपमा टुंगो लागेको हो ।
प्रतिक्रिया दिनुहोस्