२०८२ माघ ९

मेलम्चीमा विपद् प्रतिकार्यका लागि चारदिने सामुदायिक पहल तालिम सुरु

मेलम्ची — मेलम्ची नगरपालिकाको आयोजना तथा RIMES को सहकार्यमा विपद् प्रतिकार्यसम्बन्धी चारदिने सामुदायिक पहल तालिम मेलम्चीमा आजदेखि सुरु भएको छ।

तालिमको उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES की देशीय प्रमुख पुजा शाक्य तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरेलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले तालिमको उद्देश्य, आवश्यकता र समुदायस्तरमा यसको दीर्घकालीन प्रभावबारे स्पष्ट पारे।

तालिममा मेलम्ची नगरपालिकाका विभिन्न वडाबाट आएका समुदाय प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिममार्फत विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रारम्भिक प्रतिक्रिया तथा समन्वयात्मक प्रतिकार्य क्षमताको विकास गरिने आयोजकले जनाएको छ।

विपद् जोखिमको दृष्टिले संवेदनशील क्षेत्र मानिने मेलम्चीमा समुदाय आफैं सक्षम र सचेत बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिने बताइएको छ। आयोजकका अनुसार यस्तो तालिमले स्थानीय तहमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्