भरत पोखरेल
भेनेजुएलाको राजधानी काराकसका मानिसहरूको जनवरी ३ को बिहानको बिउँझाइ दुखद किसिमको थियो । जनवरी ३, २०२६ भेनेजुएलाको समय रातको २ बजेदेखि १५० अमेरिकी एअरक्राफ्टहरूले काराकस, ला कारलोटा र फोर्ट टिउनमा बम हानिरहेका थिए । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो श्रीमती सिलिया फ्लोरेससँगै सुतेको रातको प्रहरमा अमेरिकी सेनाले उनीहरूलाई अपहरण गरेको थियो । उनीहरूलाई भेनेजुएला बाहिर पुर्याइयो अनि राति ४ बजेतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर भेनेजुएलामा आक्रमण गरेको र राष्ट्रपति दम्पतिलाई कब्जामा लिएको घोषणा गरेसँगै विश्वमा तरङ्ग फैलियो । मदुरोले अपहरण हुनु अगाडिको दिउँसो चिनियाँ विशेष दूत कुइ सिआकीसँग भेटवार्ता गरेका थिए । मदुरोको गुप्तचरी गर्न दुईवर्ष अगाडिदेखि अमेरिकी जासुसहरू उनको रेकी गरिरहेका थिए । कतिसम्म सूक्ष्म निरीक्षण थियो भने मदुरो कहाँकहाँ जान्छन्, उनी कहाँ बस्छन्, कहाँ सुत्छन्, के खान्छन्, के लुगा लाउँछन् र उनका पेटहरू केके छन् आदि । इराक, प्यालेस्टाइन, अफगानिस्तान, युक्रेन सखाप पारेपछि अमेरिका भेजेजुएला सखाप पार्न सन्किएको छ ।
ल्याटिन अमेरिकालाई अमेरिकाले करेसाबारी ठान्ने प्रवृति धेरै पहिलादेखि रहँदै आएको छ । पाँचसय वर्ष अगाडिदेखि मान्तुआनोस (सेता सम्भ्रान्त) र पारदोस (मिश्रित वर्ण) बहुमतका मानिसहरू बीचको संघर्ष चलिरह्यो । ग्वाटेमालामा सन १९५४ मा राष्ट्रपति जेकोब आरबेन्जको भूमिसुधार कार्यक्रमले लोकप्रियता पाउन थालेपछि अमेरिकाले आरबेन्जलाई सत्ताच्यूत गरायो । क्युबामा सन १९६१ देखि फिडेल काष्ट्रोलाई फाल्न वर्षौं असफल दुस्प्रयास गरिरह्यो, सन १९६५ मा डोमिनिकन रिपब्लिकमा उत्पात मच्चायो, चिलीमा सन १९७३ मा राष्ट्रपति साल्भाडोर एलेन्डेलाई सत्ताच्यूत गराएर अगस्तो पिनोचेको कठपुतली सरकार गठन गरायो, सन १९८० को दसकमा निकारागुवाको सानाडिनिस्टाको सरकार गिरायो, सन १९८९ मा पानामामा जनरल मानुएल नोरएगालाई कब्जा गरेर अमेरिका पुर्याइयो । हैटी, क्याराबियन, इराक, अफगानिस्तान र लिबियाको कथा त सबैलाई थाहा भएकै कुरा हो । भेनेजुएला विश्वको सबैभन्दा बढी तेल भण्डारको देश हो । यहाँको ओरिनोको बेल्टको तेल भण्डारले विश्वको ऊर्जालाई प्रभावित गर्ने क्षमता राख्छ । भेनेजुएलाको तेल इन्धन मात्र होइन शक्ति पनि हो त्यसैले सन १९९९ मा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले भनेका थिए भेनेजुएलाको तेल यहाँका मानिसहरूको हो विदेशी संस्थानको होइन । भेनेजुएलामा तेल बाहेक दक्षिणी क्षेत्रमा सुन, कोल्टान र दुर्लभ खनिज प्रचुर मात्रामा रहेका छन् जुन आधुनिक प्रविधिमा प्रयोग हुन्छ ।
ह्युगो चाभेजको समयदेखि नै भेनेजुएला अमेरिकाको तारो बनिरहेको थियो । मदुरो राष्ट्रपति भएपछि पनि अमेरिकाको भेनेजुएला नीतिमा परिवर्तन भएन । अमेरिकाले भेनेजुएलाई आर्थिक प्रतिबन्ध लायो, कूटनीतिक अलगावमा राख्यो, राजनीतिक दवाव दिइरह्यो । त्यतिले नपुगेर संयुक्त राष्ट्रसंघको चार्टर आर्टिकल २ विपरित भेनेजुएलामा आक्रमण नै गर्यो । मदुरोलाई अहिले अमेरिका पुर्याइएको छ । लागु पदार्थ र आतंकवाद सम्बन्धि मुद्दा चलाउने भनिएको छ । अमेरिकाको यो कदमको विश्वभरि भत्र्सना भइरहेको छ । हिजासम्म अमेरिकाका ८० भन्दा ठूला सहरमा भेनेजुएला आक्रमणको विरोध भएको छ । संसारका धेरै देशमा यो कदमको विरोधमा प्रदर्शन भइरहेका छन् । नेपालमा पनि हिजो युवाहरूले महाराजगञ्ज अमेरिकी राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका प्रत्याशी बर्नी स्यान्डर्स, ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसले पनि अमेरिकाको यो कदमको विरोध गरेकी छन् । न्युयोर्कका मेयर जोहरान ममदानीले ट्रम्पलाई फोनमा यो कदमको विरोध जनाएका छन् । जेफरी साचले अमेरिका अब युद्ध मेसिन बन्दै गएको आरोप लाएका छन् । प्रसिद्ध टाइम पत्रिकाले त निर्धक्क यो मानिसलाई गिरफ्तार गर्नुपर्छ भनेर आवरण पृष्ठमै छापेको छ । भेनेजुएलामा अमेरिकी आक्रमण तेल युद्ध मात्र होइन भूराजनीति पनि रहेको छ र ट्रम्प प्रशासनले वर्तमान राष्ट्रपति डेल्सी रोड्रीगेजलाई हामीले भनेजस्ता गर्नुपर्छ भनेर थर्काएको छ । अहिले विश्व मोनरो डक्ट्रिनबाट डोनरो डक्ट्रिनमा सरेको छ । अमेरिकी साम्राज्यवादको भेनेजुएला आक्रमणको विरोधमा विश्वका जनतासँगै हामी नेपाली जनताको पनि ऐक्यबद्धता ।
प्रतिक्रिया दिनुहोस्