२०८२ फाल्गुन १३

संसारको सबैभन्दा राम्रो व्यवस्था समाजवाद हो, पुर्व सभामुख सापकोटा

चौतारा । कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव तथा ५१ औँ अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी, कलाकार, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।


वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम उद्घाटन गर्दै विद्यालय परिवारलाई शुभकामना दिए । उनले “संसारको सबैभन्दा राम्रो व्यवस्था समाजवाद हो, जुन २०७२ सालको संविधानमा समेत उल्लेख छ” भन्दै समाजवादलाई व्यवहारमा उतार्न सचेतपूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए । साथै उनले शिक्षाको उद्देश्य प्रमाणपत्रमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, नैतिकवान र अनुशासित जनशक्ति उत्पादन गर्नु भएको उल्लेख गरे । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षित रूपमा परिवर्तन हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक शिव श्रेष्ठले विद्यालयप्रति समुदायस्तरबाट उठ्ने प्रश्नलाई गम्भीरतापूर्वक लिन विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गरे । अभिभावकको बढ्दो चासोप्रति खुशी व्यक्त गर्दै विद्यार्थीको रुचिअनुसार सिर्जनात्मक शिक्षा आवश्यक रहेको बताए ।


कार्यक्रममा पूर्वमन्त्री युवराज दुलाल, नगर प्रमुख कृष्णप्रसाद सापकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा पूर्व विद्यार्थीहरू सम्मानित भए । रामज्योति फाउण्डेशनले दुई जना जेहेन्दार विद्यार्थीलाई जनही १० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । साथै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयमा योगदान पुर्‍याउनेहरूलाई पुरस्कार र सम्मान दिइयो । विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम, तेक्वान्दो प्रदर्शन तथा कलाकार चेतन सापकोटाको सन्देशमूलक गीतले समारोहलाई थप आकर्षक बनाएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, समाजसेवी, कलाकार, सञ्चारकर्मी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सिन्धुपाल्चोक जिल्लाकै जेठो विद्यालयका रूपमा परिचित यस विद्यालयमा हाल १ हजार ४ सय ७० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्