२०८२ माघ ९

चौतारा साँगाचोकगढीमा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ नगरपालिकाको वडा नं. १२ साँगाचोकमा भव्य रूपमा सुरु भएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता आज पुस १४ गतेदेखि सुरू भई पुस १६ गते समापन हुनेछ । प्रतियोगितामा नगरभित्रका २३ विद्यालयहरूको सहभागिता रहेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र उसु विधाका खेलहरूमा विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । खेलस्थलमा खेलाडीहरूको जोश, दर्शकको उत्साह र प्रतिस्पर्धात्मक खेलले वातावरण खेलमय बनेको छ ।


प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि रूपमा उपस्थित बागमती प्रदेशसभा सदस्य युवराज दुलालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकाससँगै अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तह हुदै जिल्ला, प्रदेश र राष्ट्रिय स्तर सम्म सञ्चालन हुने सबैभन्दा ठुलो र महत्त्वपूर्ण खेल प्रतियोगिता रहेको टिप्पणी गरे । सांसद दुलालका अनुसार सबै विधाका खेलकुद विकास गर्न र स्थानिय स्तरमा लुकेर बसेका खेलाडी प्रतिभाहरूको पहिचान गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरू उत्पादन गर्नका लागि यो प्रतियोगितालाई राज्यले राष्ट्रिय कार्यक्रमको रूपमा हरेक वर्ष सञ्चालन गर्दै आएको हो । साथै उनले अहिले वर्तमान राजनीतिक परिस्थितिको बयान गर्दै सकारात्मक सोचको विस्तार, सहकार्यको सोचको विकास, समाजको निमार्ण र सकारात्मक कार्यको मुल्यांकन बारे विशेष ध्यान दिनुपर्ने धारण व्यक्त गरे ।


त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा  राखेको बताउँदै विद्यालय तहबाट खेल संस्कृतिको विकास गर्न नगरपालिकाले निरन्तर लगानी र सहयोग गर्दै आएको जानकारी दिए । उनले खेलकुद पूर्वाधार विस्तार, प्रशिक्षक व्यवस्थापन र प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने नीति नगरपालिकाले अघि बढाएको उल्लेख गरे ।


उपप्रमुख सीता थापाले खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउँदै छात्र–छात्रा दुवैको सक्रिय सहभागिता नगरको लागि सकारात्मक सन्देश भएको उल्लेख गरिन् ।
खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्षम युवा पुस्ता निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले नगरको खेलकुद विकासमा थप ऊर्जा थप्ने विश्वास लिइएको छ ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई नगद तथा ट्रफीमार्फत सम्मान गरिने जानकारी नगरपालिकाले दिएको छ । प्रथम हुने विद्यालयलाई नगद १५ हजारसहित पदक, ट्रफी, शिल्ड र प्रमाणपत्र, द्वितीय हुने विद्यालयलाई नगद १२ हजारसहित पदक, ट्रफी, शिल्ड र प्रमाणपत्र तथा तृतीय हुने विद्यालयलाई नगद ९ हजारसहित पदक, ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्