२०८२ माघ ९

स्याउले वडा स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक — स्याउले वडा स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । “स्वच्छ पानी, स्वस्थ जीवन” भन्ने नाराका साथ आयोजित सभामा स्थानीय उपभोक्ता, प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष युवलाल श्रेष्ठले समितिले गरेको कामको प्रशंसा गर्दै आगामी वर्षहरूमा खानेपानीको महसुल घटाउने प्रतिवद्धता जाहेर गरे । उनले वडा कार्यालयले आवश्यक परे अनुदान दिएर भए पनि वडा बासिन्दालाई न्यूनतम मूल्यमा स्वच्छ खानेपानी उपलब्ध गराउने स्पष्ट धारणा राखे ।

समितिका अध्यक्ष रविन्द्र शर्माले समितिको उद्देश्य, हालसम्मका उपलब्धि र वडा नं. १ मा भइरहेको खानेपानी विकासक्रमबारे जानकारी गराए । उनले स्वच्छ र सुरक्षित खानेपानीलाई प्रत्येक घरसम्म पुर्‍याउने लक्ष्यसहित समिति क्रियाशील रहेको उल्लेख गरे ।

सभामा समितिका सचिव श्यामसुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको हालसम्मको जम्मा मौज्दात रकम ७ लाख ३५ हजार ९ सय ६० रुपैयाँ रहेको जानकारी गराए । उनले समितिले पारदर्शी रूपमा आर्थिक व्यवस्थापन गर्दै सेवा प्रवाहलाई निरन्तरता दिइरहेको बताए ।

समितिका उपाध्यक्ष लोकबहादुर श्रेष्ठले विविध बाधा, अर्चन र समस्याका बाबजुद ‘एक घर, एक धारा’ अभियान सफल बनाउन समिति निरन्तर प्रयासरत रहेको बताए । उनले हालसम्म करिब ८ वटा टोलमा एक घर एक धारा पुर्‍याइसकिएको जानकारी गराउँदै आगामी दिनमा बाँकी क्षेत्रलाई पनि समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले उपभोक्ताको सक्रिय सहभागिता, पारदर्शिता र सहकार्यका माध्यमबाट खानेपानी तथा सरसफाइ सेवाको दीगो विकास सम्भव हुने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्