सिन्धुपाल्चोक — दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज बनाउने उद्देश्यसहित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । डडुवा सामुदायिक स्वास्थ्य इकाईमा आयोजित शिविरबाट २ सय १९ जना स्थानीयले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन् ।

लामो दूरी पार गरेर अस्पताल पुग्न नसक्ने नागरिकका लागि शिविर ठूलो राहत बनेको स्थानीय बताउँछन् । विशेषगरी फिजियोथेरापी सेवा तर्फ १ सय ५७ जनाले परिक्षण गराएका छन् । यस्तै पाठेघरको मुखको क्यान्सर परीक्षणमा ५३ जना सहभागी भए भने आँखा जाँच तथा मोतिबिन्दु परीक्षण १ सय ६२ जनाले परिक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षणका क्रममा ५ जनामा मोतिबिन्दुको समस्या देखिएको भने ७९ जनालाई चस्मा आवश्यक पर्ने निष्कर्ष आएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । शिविरमा ज्येष्ठ नागरिकदेखि युवा उमेर समूहसम्मको सक्रिय सहभागिता रहेको थियो।
नगरपालिकाका अनुसार यस्ता शिविरहरूले स्थानीय स्तरमै रोगको पहिचान गर्न, समयमै उपचार सुरु गर्न र स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्