२०८२ पुष १

सिन्धुपाल्चोकमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रद्वारा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाको सहयोगमा विद्यालय नर्सहरूका लागि मातृशिशु स्वास्थ्य र उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम मंसिर २८ गते (आइतबार) सम्पन्न भएको हो। सुनकोशी गाउँपालिका–स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभाहलमा आयोजित उक्त कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा समुदायस्तरको स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।

यसैबीच, मंसिर २९ गते (सोमबार) जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको वार्षिक समीक्षा तथा थप क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका ४५ जना विद्यालय नर्सहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वार्षिक प्रगति समीक्षा गर्नुका साथै विद्यालय नर्सहरूको सीप र ज्ञान अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। समापन समारोहमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा ९–१० तथा ९–१२ कक्षा सञ्चालनमा रहेका १४१ वटा माध्यमिक विद्यालय रहेको जानकारी दिनुभयो। तीमध्ये १०२ माध्यमिक विद्यालयमा कार्यक्रम लागू हुनुपर्ने भए पनि हाल ५३ जना मात्र विद्यालय नर्स कार्यरत रहेको उहाँले बताउनुभयो।

कतिपय स्थानमा पदपूर्ति हुन नसक्नु र दुर्गम क्षेत्रमा जान नर्सहरूको इच्छाशक्ति कम हुनु प्रमुख चुनौतीका रूपमा देखिएको प्रमुख बजगाईंको भनाइ छ। यी समस्याबारे प्रदेश स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निर्देशनालयलाई जानकारी गराइसकिएको उहाँले जानकारी दिनुभयो।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयसम्म करार सेवामा नर्स नियुक्त गरी खटाइएको छ। विद्यालय नर्स कार्यक्रममार्फत पत्रु खाना नियन्त्रण, पोषणयुक्त खानामा प्रोत्साहन, मर्यादित महिनावारी, स्वास्थ्य तथा मानसिक स्वास्थ्य सचेतना, सरसफाइ, आत्महत्या रोकथाम र पोषण प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

तत्कालीन बागमती प्रदेश सरकारले २०७५ सालदेखि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्