चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले मंसिर २५ गते ३४ औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्यरूपमा मनाएको छ । “समाजको पहरेदार, म जिम्मेवार पत्रकार” भन्ने मूल नारासहित गरिएको कार्यक्रममा बजार परिक्रमा, स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा संघको आधिकारिक वेबसाइट fnjsindhupalchok.org को औपचारिक शुभारम्भ गरिएको छ ।

त्यसैगरी ब्लड डोनर्स एसोसिएसन नेपाल ( ब्लोदान) सिन्धुपाल्चोकको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा कुल १९ जनाले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट संकलन गरिएको रगतलाई चोैतारा रक्त सञ्चार सेवा केन्द्रमा भण्डारण गरि राखिने ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले शाखाको वेबसाइटको शुभारम्भ गर्दै पत्रकारिता समाजको ऐना भएकाले सत्य, तथ्य र निष्पक्षतामा केन्द्रित पत्रकारिताले मात्र जनताप्रति उत्तरदायित्व पूरा गर्न सक्ने बताए । साथै उनले पत्रकारिताको नाममा गैरपत्रकारहरूले बिना प्रमाण, सत्य तथ्यको जाच बिना प्रवाह गरिरहेको गलत सुचनाहरूलाई नियन्त्रण गर्न पनि महासंघले भुमिका खेल्नुपर्ने बताए ।

विशेष अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद बागचन्दले पत्रकारिताको विकासको इतिहास बताउदै, देशमा भएका सबै परिवर्तनहरू ल्याउनुमा पत्रकारिताको महत्त्वपूर्ण भुमिका रहेको बताए । उनले देशभर डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सबै विचार र लेख समाचार नभएको बताए । साथै उनले पछिल्ला समयमा समुदायले पनि सकारात्मक भन्दा नकारात्मक समाचारमा बढी चासो देखाएको कारण अनावश्यक समाचारले प्राथमिकता पाइरहेका उल्लेख गरे ।

नगर उपप्रमुख सीता थापाले पत्रकारिताबाट समाजमा पर्ने प्रभाव अत्यन्तै संवेदनशील हुने बताउँदै आचारसंहिता, तथ्यपरकता र संवेदनशीलता नै पत्रकारको मूल पहिचान बन्नुपर्ने धारणा राखिन् । उनले पत्रकारितालाई आवाज बिहिनहरूको आवाजको रूपमा परिभाषित गर्दै पत्रकार महासंघको एक महत्त्वपूर्ण उपलब्धि मध्य एक महिला सशक्तीकरण पनि रहेको र यसले महिलाहरूको क्षमता विकास र समान अवसर सृजनामा महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताइन् ।
अन्त्यमा सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै प्रेस स्वतन्त्रता, आचारसंहिता र जनमुखी पत्रकारितालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्