भोटेकोशीमाथि झुण्डिएको द लास्ट रिसोर्ट को झोलुङ्गे पुल बुधबार बिहान असामान्य ढंगले चहलपहलयुक्त थियो। हावा चिसो थियो, भोटेकोसी नदी आफ्नै रफ्तारमा गर्जिरहेको थियो । सबैको ध्यान बन्जी जम्पमा थियो, जहाँ ह्विलचेयरमै हार्नेस (बन्जि गर्दा बाँधिने सुरक्षा डोरीहरू) बाँधिदै थियो । ह्विलचियरमा थिए सिन्धुपाल्चोक, चौताराका दिलिप सापकोटा ।
काठमाडौँदेखि नयाँ पुलस्थित द लास्ट रिसोर्टसम्मको असहज यात्रा पार गर्दै दिलिप सापकोटा, आफुजस्तै ह्विलचियर प्रयोगकर्ता सिन्धुलि, कमलामाइका शिशिर दाहालसँग नयाँपुलमा पुगेका थिए। थकाउने पक्कि र कच्ची सडकका बीच पनि उनीहरूको उत्साह र दृढता घटेको थिएन। जुन क्षण उनीहरू पुलको प्रवेशद्वारमा उभिए, त्यही क्षणले एउटा सन्देश दियो- आज केही ऐतिहासिक हुन लागेको थियो।
दुवैजनालाई विशेष सुरक्षा हार्नेसले बाँध्ने क्रममा पुलमा एकछिन मौनता छायो। सापकोटा ह्विलचेयरमै स्थिर भएर बसेका, शिशिर दाहाल आफ्नै ठाउँमा तयारीमा। सुरक्षाकर्मीले स्ट्र्याप–स्ट्र्याप जाँच्दै जाँदा दुबैको अनुहारमा अनौठो संयम देखिन्थ्यो । दिलिपलाइ पुलबाट बन्जि प्वाइन्टमा क्र्यु मेम्बरले सोधे-कस्तो अनुभव हुँदैछ ? दिलिपले भने -‘फिलिङ एक्साइटेड’ ।
काउन्टडाउन सुरु भयो। “थ्री… टू… वन… बन्जि।”
त्यसैक्षण दिलिपको ह्विलचेयर खोंचतिर छाडियो। एउटा ऐतिहासिक छलाङ्, जुन नेपालको इतिहासमै पहिलोपटक ह्विलचियरबाटै बन्जि हानिदैं थियो । दिलिपले निर्धारीत १६० मिटर उचाइमा स्वतन्त्रताको श्वास फेरे । बन्जि पूरा गरे ।
त्यसपछि शिशिर दाहालले पनि फड्को मारे। पुल हल्का हल्लियो, तर नदीमाथि त्यो क्षण इतिहासको गहिराइमा स्थिर रह्यो नेपालमा पहिलोपटक ह्विलचेयरमै बसेर गरिएको बन्जी जम्प, त्यो पनि एकैदिन दुई जना साहसिक अपांगता भएका व्यक्तिबाट।
मेरुदण्डमा समस्या आएर लामो समय हलचल गर्न नसक्ने गरि थलिएका दिलिप अहिले अपांगमैत्रि स्कुटर र ह्विलचियरमा सयर गर्दै हजारौं अशक्तहरुको सशक्त आवाज बनीरहेका छन् । उनिजस्तै अपांगता भएका व्यक्तिहरुको नेतृत्व र उदाहरण बनिरहेका दिलिप साहासिक र सामाजिक दुवै काममा उत्तिकै सक्रिय छन् ।
सापकोटालाई साहस भर्दै संगै बन्जि हान्ने दाहाल भने मोटरसाइकल दुर्घटनाका कारण मेरुदण्ड पक्षघातको समस्या भोगिरहेका व्यक्ति हुन् । उनी ४ बर्षदेखी ह्विलचियर प्रयोग गरिरहेका छन् । दाहाल कृषि उद्यमि हुन् । उनी कृषि नर्सरी सञ्चालन गरेर उदाहरण बनिरहेका छन् ।
सापकोटा पहिलेदेखि पाराग्लाइडिङ, जिपलाइन, स्विङलगायतका साहसिक गतिविधिमा सहभागी हुँदै आएका थिए। सापकोटा केवल साहसिक गतिविधिका उत्साही मात्र होइनन्। अपाङ्गताको बाबजुद पनि उनी समावेशी पर्यटन विकासका लागि ‘जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपाल’ का सचिवका रूपमा रहँदै निरन्तर वकालत र पैरवी गर्दै आएका छन्। उनी भन्छन्- नेपालका ट्रेक, मार्ग र पर्यटन सेवामा अपाङ्गता भएका व्यक्तिका लागि पहुँच बनाइनु नै अबको अनिवार्य एजेन्डा हो।
बन्जिबाट माथि फर्किएपछि सापकोटाको गम्भीर स्वरमा भने-‘ हामीले हेरेर बस्ने होइन, सहभागी हुने अधिकार मागेका हौँ, त्यसैलाई आज व्यवहारमा उतारेका छौँ।’
शिशिर दाहाल पनि आजका घटनाको केन्द्रमै थिए। बाइक दुर्घटनापछि ह्विलचेयरमा निर्भर दाहाल नर्सरी व्यवसाय, ग्राफिक्स डिजाइन र सामाजिक सञ्जाल मार्केटिङ हुँदै विभिन्न खेलकुद तथा मनोरञ्जन विभागमा नेतृत्वसमेत सम्हालिरहेका छन्। जम्पपछि उनी हल्का हाँसे-‘जीवनले मार्ग रोके पनि, हामीले फड्को मारेर त्यसलाई उत्तर दिन सक्छौँ।’
ह्विलचेयरमै बसेर बन्जी गर्ने सापकोटाको कदम केवल व्यक्तिगत साहसको प्रदर्शन होइन, नेपालको पर्यटन संरचना र सोच दुवैलाई चुनौती दिने एउटा निर्णायक क्षण थियो। नेपालकै इतिहासमा ह्विलचियरमै बन्जि हान्ने आफू नै पहिलो व्यक्ति भएको सापकोटाले दावी गरे ।
खुल्लापानाबाट
प्रतिक्रिया दिनुहोस्