नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिलको वार्षिक सम्मेलनमा औपचारिक प्रतिनिधित्व गरेको छ । थाइल्यान्डको बैंककमा जारी ६३ औँ विश्व बक्सिङ्ग काउन्सिल नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म जारी हुने वार्षिक सम्मेलनमा नेपालले सहभागिता जनाएर अन्तर्राष्ट्रिय बक्सिङ्ग मञ्चमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।
यस सहभागितामा नेपालको प्रतिनिधित्व गर्दै अफिसियल टिममा नेपाल प्रोफेसनल बक्सिङ्ग कमिसनका अध्यक्ष राजन प्रजापति र पश्चिम नवलपरासी, परासी निवासी राष्ट्रिय रेफ्री दिपेश शर्मा गरि दुई प्रतिनिधिहरू सहभागी भएका छन् ।
विश्वका करिब १५० देशका प्रोमोटर, च्याम्पियन, प्रशिक्षक, रेफ्री तथा अफिसियल प्रतिनिधिहरू सहभागी रहेको यो सम्मेलन महत्त्वपूर्ण एजेन्डाहरूमा केन्द्रित छ । राष्ट्रिय थुप्रै प्रतियोगितामा उत्कृष्ट रेफ्रीको पहिचान बनाइसकेका दिपेश शर्माको अनुभवले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सहभागिताको महत्त्व र अपेक्षा
सम्मेलनमा सहभागी राष्ट्रिय रेफ्री दिपेश शर्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपालीको सहभागिताले राष्ट्रकै गौरव बढाएको बताए । यस विश्वस्तरीय सम्मेलनमा नेपालको उपस्थिति प्रोफेसनल बक्सिङ्गको विस्तार र अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने अवसरका रूपमा लिइएको छ ।
त्यसैगरी, नवलपरासी बक्सिङ्ग एसोसिएसनका अध्यक्ष तथा प्रदेश वरिष्ठ उपाध्यक्ष टेकबहादुर पुनले सम्मेलनमा नेपालको सहभागिताले आगामी दिनमा नेपालमा बक्सिङ्ग खेललाई व्यवसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालको यो पहिलो औपचारिक उपस्थिति प्रोफेसनल बक्सिङ्गको क्षेत्रमा नयाँ आयाम थप्ने र नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा ल्याउन सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

गोरखापत्र अनलाइनबाट
प्रतिक्रिया दिनुहोस्