सिन्धुपाल्चोक । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट १७ जना प्रतिनिधि चयन भएका छन् । आइतबार बिहान सम्पन्न मतदानपछि दुवै क्षेत्रबाट प्रतिनिधि मनोनयन भए पनि निर्वाचन प्रक्रियाभन्दा बढी चर्चा मतदाता सहभागीता किन यति कमजोर देखियो भन्ने विषयले पाएको छ । राजनीतिक दलप्रति स्थानियको चासो खस्किँदै गएको संकेत यो निर्वाचनले फेरि एकपटक पुष्टि गरिदिएको स्थानीय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा खुला तर्फ एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपाल सबैभन्दा धेरै मतसहित विजयी भएका छन् । उनीसँगै जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल पनि प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ बाह्रबिसे नगरपालिकाकी पूर्व उपमेयर सुशीला पाख्रीन सबैभन्दा धेरै मत पाएर निर्वाचित भइन् । भोटेकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष दाबुटी शेर्पा लामा र बलेफी गाउँपालिकाकी पूर्व उपाध्यक्ष कमला श्रेष्ठ कायस्थ पनि मनोनयनमा परेका छन् । यस क्षेत्रमा ४० वर्षमुनिका बीच लोकप्रिय मतसहित आङदोर्जे शेर्पा चयन भए, जसले संगठनभित्र युवा नेतृत्वप्रतिको आस्था अझै बलियो रहेको संकेत दिएको देखिन्छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमाले सिन्धुपाल्चोकका सचिव तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुख कृष्णगोपाल तामाङ विजयी भएका छन् । उनीसँगै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, हस्त पण्डित र मित्रलाल चौलागाई पनि प्रतिनिधिहरूमा परेका छन् । महिलातर्फ बालकुमारी सापकोटा र सुनिता पराजुली निर्वाचित भए भने ४० वर्षमुनि युवा कोटाबाट हिरा चौलागाई चयन भए भने दलित तर्फ मथुरा विक सर्वसम्मत रूपमा प्रतिनिधि बन्न सफल भएका छन् ।
तर, दुवै क्षेत्रमा देखिएको अत्यन्तै कमजोर मतदान सहभागीता यस महाधिवेशनको मुख्य प्रश्न बनेको छ । क्षेत्र नम्बर १ मा ५,६६८ र क्षेत्र नम्बर २ मा ३,७११ गरी दुवै क्षेत्रबाट जम्मा ९,३७९ संगठित सदस्य मतदानका लागि योग्य थिए । तर मतदानमा केवल ३,८०७ जनामात्र सहभागी भएका छन्, जुन जम्मा ४०.५९ प्रतिशत हो । अर्थात् ५९.४१ प्रतिशत सदस्यले मतदान प्रक्रियामा भाग नै लिएनन् । यसले एमालेसहित समग्र राजनीतिक दलहरूप्रतिको जनविश्वास घट्दै गएको र आन्तरिक विवादले मतदातामा निराशा बढेको, तथा संगठनले आधारभूत सदस्यहरूसम्म ऊर्जा पुर्याउन नसकेको टिप्पणी हुदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्