सिन्धुपाल्चोक । चौतारा–नवलपुर–मेलम्ची सडकखण्डको झ्याडीदेखि भेडिचोैरसम्म चलिरहेको निर्माण कार्यमा गम्भीर अनियमितता भएको खुलेको छ । करिब २४ करोड रुपैयाँमा २०८१ साउन २४ गते सम्झौता भई करिब २२ करोड ८३ लाख लागतमा निर्माण हुन लागेको उक्त सडकमा ठेकेदार कम्पनी अमर ज्योति कन्स्ट्रक्सनले सम्झौता र प्राविधिक मापदण्डविपरीत क्रसर मटेरियलको सट्टा माटो र ढुंगाजस्ता प्राकृतिक सामग्री प्रयोग गर्दै सब–बेस बिछ्याएको पाइएको हो । मापदण्डअनुसार २० सेन्टिमिटर क्रसर मटेरियल बिछ्याउनुपर्ने भए पनि प्राकृतिक सामग्री प्रयोग गरिएको स्थानीय र प्राविधिक स्रोतले जनाएका छन् ।

यस सडकखण्डका बारेमा पटक–पटक गुनासो आएपछि प्रदेश सभा सदस्य युवराज दुलाल स्वयं स्थलगत अनुगमनका लागि पुगेका थिए । दुलालले साइटमा भेटिएको सामग्री, गुणस्तरहीन तरिकाले बिछ्याइएको प्राकृतिक सब–बेसप्रति असन्तुष्टि जनाउँदै यस्तो काम ‘सम्झौता तथा सार्वजनिक धनको स्पष्ट दुरुपयोग’ भएको टिप्पणी गरे । उनले ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यलयका प्राविधिकलाई तत्काल निर्माण रोक्न, प्रयोग सामग्रीको प्राविधिक परीक्षण गर्न र गुणस्तर मापदण्ड पूरा भएपछि मात्र काम अघि बढाउन निर्देशनसमेत दिएका छन् ।
उनका अनुसार, ‘राज्यको विकास निर्माण कार्य जनताको भरोसामाथि टेकेको हुन्छ । सम्झौता अनुसार क्रसर मटेरियल अनिवार्य छ, तर त्यहाँ माटो र ठूला–ठूला ढुंगा प्रयोग गरिएको छ, जुन स्पष्ट रूपमा मिलावट र मापदण्ड उल्लङ्घन हो ।
वर्षौको प्रतिक्षापछि सडक सुधारको प्रक्रिया सुरु हुँदा स्थानीय बासिन्दा अत्यन्त उत्साहित थिए । तर निर्माणको प्रारम्भिक चरणमै अनियमितता देखिएपछि उनीहरू आक्रोशित बनेका छन् । स्थानीयहरूले बिग्रिएको सडकले वर्षौदेखि दैनिक जीवन, यातायात, व्यावसायिक गतिविधि र विद्यार्थीहरूले आवतजावतमा समस्या झेल्दै आएको उल्लेख गर्दै अब फेरि गुणस्तरहीन कामले दीर्घकालीन असर पार्ने चिन्ता व्यक्त गरेका छन् ।
स्थानियको भनाइमा, ‘करोडौँको बजेटमा बन्न लागेको सडकमा यति ठूलो लापरबाही हुनु राम्रो संकेत होइन । जनताले कर तिरेको पैसाबाट बन्ने सडकमा यसरी मनोमानी हुनु अन्याय हो । उनीहरूले अबदेखि स्थानीय समुदायले पनि निर्माण स्थलको निगरानी गर्नुपर्ने आवश्यकता पहिचान गरेका छन् ।

पुर्वाधार विकास कार्यलयका इन्जिनियर सुजन भट्टका अनुसार सडक निर्माण मापदण्डअनुसार नभएको ठहर गर्दै मंसिर ११ गते नै निर्माण रोक्न आधिकारिक पत्र पठाइएको थियो । तर कार्यलयको पत्रलाई बेवास्ता गर्दै ठेकेदारले बेस बिछ्याउने काम निरन्तर अघि बढाएको आरोप कार्यलयको छ ।
इन्जिनियर भट्टले भने, ‘हामीले तत्काल काम रोक्न भनेका थियौ । परीक्षण र आवश्यक प्राविधिक मूल्यांकन नगरी बेस बिछ्याउने अनुमति थिएन । उपस्थित स्थानियका अनुसार सब–बेसमा गरिएको अनियमितता लुकाउनै पत्रको अवहेलना गर्दै बेसको काम अघि बढाइएको हुनुपर्छ ।

यता, निर्माण व्यवसायका प्रतिनिधि सन्दीप आचार्य भने सम्पूर्ण काम सम्झौताअनुसार नै भएको ठान्छन् । उनी भन्छन्, ‘पत्र हामीले पाउने बेलासम्म बेसमा प्रयोग गरिने सामग्री साइटमै थुपारिएको थियो । त्यसले सवारी–साधनको आवतजावत समस्या गरेकोले तात्कालिक रूपमा बेस बिछ्याइएको हो । माटो र ढुंगा देखिँदैमा गुणस्तर कमजोर भयो भन्ने हुँदैन, सब–बेसका केही तहमा प्राकृतिक सामग्री प्रयोग गर्न मिल्ने पनि प्राविधिक व्याख्या छ।’

तर स्थल निरीक्षण गरेका स्थानीय तथा जनप्रतिनिधिहरू ठेकेदारको दाबीलाई अस्वीकार गर्छन् । सडक निर्माणमा देखिएको यस्तो अनियमितता केवल प्राविधिक त्रुटि मात्र नभई सार्वजनिक लगानी र पारदर्शितामाथिको प्रश्न बनेको छ । सरोकारवाला निकायहरूबीच समन्वय अभाव, निगरानी कमजोरी र ठेकेदारको मनोमानी रोक्न नसकिएको यथार्थ उजागर भएको छ ।
यस विषयमा थप जानकारी लिने उद्देशले पुर्वाधार कार्यलयका प्रमुखसंग बारम्बार सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा नै आउन नचाहेको देखियो, यसै सन्दर्भमा कार्यलयका सुचना अधिकारी संग कुरा गर्दै मापदण्ड विपरीत भएको भए नियम अनुसार पुर्ण निर्माण गर्नुपर्ने बताए ।
अब प्राविधिक परीक्षण, गुणस्तर मापन, कडाइका साथ अनुगमन र जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढे मात्र सडकको वास्तविक गुणस्तरबारे स्पष्टता आउने अपेक्षा स्थानीयले गरेका छन् । सार्वजनिक धनमा बनिरहेको यो महत्त्वपूर्ण सडक स्थानीयको दैनिक जीवनसँग प्रत्यक्ष सम्बद्ध भएकाले निर्माण कार्यमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्