२०८२ मंसिर ६

सानो ओख्रेनीमा भव्य रिसोर्ट सञ्चालन, जुगल हिमाल नियाल्दै मनमोहक अनुभव लिन सकिने

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ सानो ओख्रेनीमा आधुनिक सुविधासहितको आकर्षक रिसोर्ट सञ्चालनमा आएको छ ।

कृष्ण भारती नेतृत्वको समूहले निर्माण गरेको यो रिसोर्ट करिब एक वर्षको अवधिमा दुई करोड रुपियाँभन्दा बढी लगानीमा तयार भएको हो। सहरको भीडभाड र कोलाहलबाट टाढा, चिसो हावाको स्पर्श, हरियाली वातावरण र  हिमाल झल्कने जुगल हिमालको दिव्य दृश्य– यी सबैको संगमले ओख्रेनीमा बनेको यो रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने संकेत देखिएको छ । प्रकृतिको काखमा बसेर शान्त वातावरण खोज्नेका लागि यो स्थान उपयुक्त मानिएको छ।

सिन्धुपाल्चोकको ओख्रेनीको उचाइका कारण यहाँको मौसम सदैव चिसो र रमणीय रहने गरेको छ। यही प्राकृतिक सौन्दर्यले लगानीकर्तालाई आकर्षित गर्दै आएको छ। शुक्रबार नगरप्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापाले संयुक्त रूपमा रिसोर्टको उद्घाटन गरेसँगै यसको औपचारिक सञ्चालन सुरु भएको हो। यो क्षेत्र पाँचपोखरी पुग्ने महत्वपूर्ण मार्ग पनि हो र लाङटाङ राष्ट्रिय निकुञ्ज नजिकै पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि सहज पहुँच रहेको बताइएको छ।

लगानीकर्ताहरूका अनुसार प्राकृतिक दृश्य, हिमालको सुन्दरता, चिसो मौसम र शान्त वातावरण कै कारण यस्ता क्षेत्रमा पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्